काठमाडौं, कात्तिक १९ – पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोरोनाभाइरसको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। गत १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ।
उनी विगत १० वर्षदेखि माइस्थेनियाबाट पीडित थिइन्। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो। सीता २०१८ साउन १३ मा रोल्पा गजुल धौले गाउँमा जन्मेकी थिइन्।
महरासँग उनको २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी छन्। महरा भूमिगत हुँदा सीतालाई तत्कालीन राज्य पक्षबाट दु:ख दिइएको पारिवारिक स्रोत बताउँछ।२०५४ साउन २९ गते राति रोल्पा मेवाङस्थित घरमै गिरफ्तार गर्न खोज्दा उनले सुरक्षाकर्मीको घेरा तोडेकी थिइन्। त्यस दिनदेखि नै उनको परिवार नै पूर्णकालीन कार्यकर्ताका रूपमा तत्कालीन माओवादीमा लागेका थिए।
उनको स्वास्थ्यमा समस्या देखिएपछि गत कात्तिक १३ गते दाङको गोर्खा अस्पताल भर्ना गरिएको थियो। कात्तिक १४ गते उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।
FACEBOOK COMMENTS