काठमाडौं, ०१ कार्तिक – पूर्वीनवलपरासीमा कोरोना संक्रमितहरुको पहिचान गर्नका लागि स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि पिसिआर मेसिन पुगेको छ ।
जिल्ला अस्पताल डण्डामा रहने गरी राखिने मेसिन आज एक औपचारिक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो । तथापि जिल्लामै पिसिआर परीक्षण हुन भने एक महिना बढी लाग्ने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईले पिसिआर मेसिन आइपुगे पनि उक्त मेसिनका लागि स्थान व्यवस्थापन, जनशक्ति व्यवस्थापन, मेसिनको क्वालिटी परीक्षण लगायतले गर्दा पिसिआर मेसिन सञ्चालन गर्न कम्तिमा एक महिना लाग्ने बताए ।
पीसीआर मेसिन प्रदेश सांसद तिलक महतले जिल्ला अस्पतालका अध्यक्ष डा. गोपाल खनाललाई हस्तानान्तरण गरे ।
पिसिआर मेसिन सञ्चालनमा आएपछि नवलपुरमा संकलित स्वाब परीक्षणका लागि चितवन, हेटौडा, पोखरा लगायतका क्षेत्रमा पठाउनु पर्ने बाध्यता भने हट्ने छ ।
नवलपुरमा अहिलेसम्मको तथ्यांक अनुसार नवलपुरमा संक्रमितको संख्या १२९९ पुगेको छ । जसमध्ये १० जनाको निधन भएको छ भने ८५० जना निको भएका छन् ।
FACEBOOK COMMENTS