काठमाडौं, ३० माघ- बुधबार रातीदेखि पेट्रोलियम पदार्थ प्रतिलिटर दुई रूपैयाँ महँगो भएसँगै आगामी दिनमा झनै आकाशिने अनुमान गरिएको छ । अर्को साता भारतीय आयल निगमले पठाउने मूल्यको आधारमा नेपाल आयल निगमले पुनः प्रतिलिटर ३ रूपैयाँ बढाएर पेट्रोलको भाउ १ सय १५ र डिजेल कम्तिमा १ सय पुर्याउने स्रोतको दाबी छ ।
कच्चा तेल निर्यात गर्ने राष्ट्रहरूको संगठन (ओपेक) ले उत्पादनमा कटौती गरेपछि विश्व बजारमा तेलको भाउ बढेको हो । एक वर्षअघि कोरोना महामारीको शुरुताका कच्चा तेलको भाउ प्रतिब्यारेल ५१ डलर रहेकोमा अहिले ६० डलर पुगेको छ । लामो समयदेखिको लकडाउन र मन्दीको कारण तेल निर्यात मुलुकहरूको अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ । उनीहरूले त्यहि धक्कालाई रोक्न तेल उत्पादनमा कार्टेलिङ्ग गरेर मूल्य बढाउने रणनीति लिएका हुन् ।
एक वर्षदेखि प्रतिब्यारेल दैनिक १० देखि १५ सेण्ट भाउ बढिरहेको प्रवृत्तिलाई हेर्दा आगामी एक वर्षभित्र नेपाली बजारमा पेट्रोलको भाउ प्रतिलिटर १ सय ४० रूपैयाँसम्म पुग्ने आँकलन गरिएको छ । आयल निगम स्रोतका अनुसार अमेरिकी डलरको भाउ घटेकोले घाटा भने बढेको छैन ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल, सुन,डलर र कमोडिटी मार्केटबीचको उतार चढावले तिनको मूल्यमा प्रभाव पार्छ । सामान्यतयाः अन्तर्राष्ट्रिय लगानीकर्ता जता ढल्किन्छन् त्यसको मूल्य बढ्छ । उनीहरुले लगानी गर्न छाडेपछि त्यसको भाउ घट्छ । कोरोनासँगै सुन र डलरमा लगानी गरेका लगानीकर्ताले पछिल्लो दिन तेलमा आँखा लगाउन थालेको बजार विश्लेषकहरु बताउँछन् ।
FACEBOOK COMMENTS