काठमाडौं, भदौ ११ – कोरोना संक्रमित ३२ वर्षीया महिलाको बिहीबार बिहान पोखरामा निधन भएको छ । पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा उपचार गराइरहेकी महिलाको निधन भएको हो । पोखरा महानगरपालिका–११ की उनी भदौ ७ मा प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । उनमा कुनै पनि किसिमको दीर्घ रोग नभएको अस्पतालका निर्देशक डा.अर्जुन आचार्यले बताए ।
यसअघि उनी ज्वरो आउने र श्वास फेर्न गाह्रो भए पछि गत शनिबार उनी पोखराकै कास्की सेवा अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । अस्पतालको आईसीयूमा तनहुँकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएपछि उनको पनि स्वाब परीक्षण गरिएको थियो । कोरोना संक्रमण देखिएपछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा लगिएको थियो ।
कास्की सेवा अस्पतालका निर्देशक डा।पदम खड्काका अनुसार उनमा ‘बाइल्याटरल निमोनिया’ र ‘सेप्टिक सक’ थियो । त्यहाँ पुग्नुअघि उनी पोखराकै साइ अर्चना अस्पतालमा उपचार गरेर घर फर्किएकी थिइन् । एक दिन घरमा आराम गरेपछि गत शनिबार पुन: मणिपाल अस्पतालमा उपचारका लागि पुगेकी थिइन् । मणिपालले आईसीयूमा भर्ना नलिँदा उनी कास्की सेवा अस्पतालमा पुगेकी थिइन् ।
कोभिड–१९ उपचार केन्द्रमा हालसम्म ५ जनाको निधन भएको छ । तीमध्ये पोखराका ३ जना हुन् । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
यसअघि बुधबार साँझ र बिहीबार बिहान गरी बारा र पर्सामा पनि ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
FACEBOOK COMMENTS