काठमाडौं, भदौ १३ – पोखरामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृतक पुरुष नबिल बैंकको पोखरा समागृह शाखामा सुरक्षा गार्डको रुपमा कार्यरत थिए । उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ थालिएको पोखरा १४ का वडा सदस्य जितेन्द्र थापाले जानकारी दिए । पोखरा १४ का उनी उपचारको लागि अस्पताल जाने क्रममै संक्रमित भएको हुन सक्ने बताइएको छ ।
मृतक पोखरा स्वास्थ्य विज्ञान प्रष्तिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भदौ ७ गते भर्ना भएका थिए । प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार उनमा पेट फुल्ने साथै आन्द्रामा समस्या देखिएको थियो ।
भदौ ७ गते उपचारका लागि अस्पताल आएका उनलाई कोरोना आशंका गरि ८ गते स्वाब जाँचका लागि पठाइएको उनले बताए । ‘इमर्जेन्सी विभागमा भर्ना गरेर उपचार थालेका थियौ,’ उनले भने, ‘भर्ना गरि सकेपछि कोभिडको आशंका गरेर स्वाब जाँच्यौं । स्वाब जाँच्दा उहाँमा कोरोना संक्रमण रहेछ ।’
शनिबार बिहान ११ बजे उनको अस्पतालको आइसोलेसन कक्षमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसअघि पनि भदौ ११ मा पोखरा १२, १२ गते पोखरा १६ मा अस्थाई बसोबास भएका लमजुङका संक्रमित र १३ गते पोखरा १४ का ५८ वर्यी पुरुषको मृत्युु भएको थियो ।
हालसम्म गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
FACEBOOK COMMENTS