काठमाडौं, ६ पुष – पछिल्लो २४ घण्टामा विकसित राजनीतिक घटनाक्रमले मुलुक अस्थिरतातर्फ अघि बढेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस, राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद विघटन गर्ने सिफारिस अनुमोदन र प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता घटनाले मुलुक राजनीतिक अस्थिरतातर्फ धकेलिएको छ । र सँगै सांसदहरुको हस्ताक्षर दुरुपयोग र जनादेशको अपमान गरिएको विषयले पनि राजनीतिक तताएको छ ।
आइतबार बिहान ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता भएको सूचना पाएपछि प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक राखेर संसद नै विघटन गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरे । केही घण्टामै राष्ट्रपति भण्डारीले सरकारको सिफारिसअनुसार संसद विघटन गरिन् ।
यसै शिलशिलामा सांसदहरुको हस्ताक्षर दुरुपयोग भएको पनि खुलेको छ । आइतबार बिहान संसद सचिवालयमा प्रधानमन्त्री ओलीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमा सांसदहरुको हस्ताक्षर दुरुपयोग गरिएको स्वयं सांसदले बताएका छन् । सो प्रस्तावमा प्रधानमन्त्री ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरिएको छ ।
संसदमा दर्ता गरिएको प्रधानमन्त्री ओलीविरुद्धको प्रस्तावमा नेकपाका सांसदहरु पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, हरिबोल गजुरेल, रामकुमारी झाँक्री, पम्फा भुसाल, देव गुरुङ, देवेन्द्र पौडेल, वर्षमान पुन, रामेश्वर राय यादव, प्रभु साह, शक्तिबहादुर बस्नेत, सत्या पहाडी, गिरिराजमणि पोखरेल, बीना मगर, जनार्दन शर्मा, रेखा शर्मा, ओनसरी घर्ती, भीम रावललगायत ९० जना सांसदहरुले हस्ताक्षर देखिन्छ ।
तर, सो हस्ताक्षर अविश्वासको प्रस्ताव दर्ताका लागि सांसदहरुले नदिएको हस्ताक्षरकर्ता रामकुमारी झाँक्रीले सार्वजनिक रुपमा भनेकी छन् ।
झाँक्री नेता नेपालनिकट नेतृको रुपमा परिचित छिन् । उनै सांसद झाँक्रीले आफ्नो हस्ताक्षर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावका लागि नभएर संसदको अधिवेशन बोलाउनका लागि दिइएको बताएकी छन् ।
FACEBOOK COMMENTS