काठमाडाैं, पुस १४ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा विघटनमा पश्चाताप गरेर प्रतिनिधि सभा पुनःस्थापनाका लागि तयार भए सबै कुरा बिर्सिन तयार रहेको बताएका छन् ।
उनले संविधान विपरीतका कदम फिर्ता नगरे ओलीको पतन निश्चित रहेको दाबी गरे । यद्यपि संसद् विघटन फिर्ता लिने अधिकार प्रधानमन्त्रीलाई संविधानले दिएको छैन ।
‘अझै आशा मारेका छैनौं, ओलीले पश्चाताप गरेर प्रतिनिधि सभा विघटनको गल्ती भएको स्वीकार गर्नुहुन्छ भने प्रतिनिधि सभा पुनःस्थापनाका लागि अगाडि बढ्नुहुन्छ भने हामी सबै कुरा बिर्सिन तयार छौं,’ मंगलवार काठमाडौंको भृकुटीमण्डपमा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको विरोध कार्यक्रममा नेता नेपालले भने, ‘त्यही बाटो अवलम्बन गर्ने हो भने भीरबाट लड्ने गोरुलाई रामराम मात्र भन्न सकिन्छ ।’
नेता नेपालले प्रतिनिधि सभा विघटन गर्ने व्यक्ति, प्रतिनिधि सभा भंग भइसकेपछि कामचलाउ बनेका प्रधानमन्त्री ओलीले मन्त्रीको लोभ देखाउँदै पद बाँडिरहेको आरोप लगाए ।
नेता नेपालले आफूहरू नै नेकपाको आधिकारिक लाइन भएको दाबी गर्दै सूर्य चुनाव चिह्न आफूहरूले पाउने दाबी गरे ।
