काठमाडौं, ११ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओली र साईप्रसका राष्ट्रपति निकोस अनास्तासीयादेस बीच टेलिफोन सम्वाद भएको छ। साईप्रसका लागि नेपाली राजदुत डा. अन्जान शाक्य एवम् दूतावासको विशेष पहलमा उक्त सम्वाद भएको हो । सो क्रममा दुइपक्षीय हितका विविध बिषय र कोरोनाका कारण सिर्जित अवस्था बारे छलफल भएको बताइएको छ । अोली र निकोस बीच कोरोनाले निम्त्याएको विश्वव्यापी संकट समाधान गर्ने दिशामा एक अर्काले चालेका कदमहरुप्रति ऐक्यबद्धता जाहेर गर्दै सङ्क्रमणसँग जुध्न दुई देश बीच आपसी सहयोग आदानप्रदान गर्ने कुराकानी भएको थियो ।
टेलिफोन संवादका दौरान प्रधानमन्त्री अोलीले साईप्रस सरकारले नेपालीहरुलाई दिएको सुरक्षा एवं सहयोगका लागि साईप्रसका राष्ट्रपतिलाई धन्यवाद पनि दिए । साथै, आगामी दिनमा यसले निरन्तरता पाउने विश्वास समेत व्यक्त गरेका छन् । प्रत्युत्तरमा राष्ट्रपति निकोसले साईप्रस सरकारले नेपाली समुदायलाई सदैव साथ दिने बताए । करिब आधा घण्टासम्म चलेको उक्त फोनवार्ताका क्रममा दुई देश बीच कूटनैतिक सम्बन्ध स्थापनाको ४०औं वर्षगाँठको उपलक्ष्यमा नेपाल-साईप्रस सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिँदै निकट भविष्यमा उच्चस्तरीय भ्रमण आदानप्रदान गर्न आवश्यक रहेको समेत अौंल्याए । नेपालका प्रधानमन्त्री र साईप्रसका राष्ट्रपति बीच टेलिफोन सम्वाद भएको यो पहिलो अवसर हो । प्रधानमन्त्री ओली र साईप्रसका राष्ट्रपति निकोस बीचको संवादले साईप्रसमा रहेका नेपालीहरुको समस्यालाई सम्बोधन गर्न सहायक हुनसक्ने देखिएकोले यस ऐतिहासिक सम्वादलाई अर्थपूर्ण मान्न सकिने राजदुत शाक्यले बताइन् ।
FACEBOOK COMMENTS