काठमाडौं । स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भोलि सोमबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा पहिलो युनिटबाट विद्युत उत्पादन गर्न स्विच थिचेर आयोजनाको उद्घाटन गर्न लागेका हुन् ।माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठका अनुसार भोलिदेखि नै तामाकोशीको ७६ मेगावाट बिजुली राष्ट्रिय प्रशारणमा जोडिनेछ । अबको १५ दिन परीक्षण उत्पादन अवधिको रुपमा रहनेछ । त्यसपछि तामाकोशीबाट व्यवसायिक उत्पादन सुरु हुनेछ र प्राधिकरणले कम्पनीलाई बिजुलीबापत पैसा तिर्न सुरु गर्नेछ ।
७६/७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिका तय गरिएको छ । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमश : विद्युत उत्पादन हुनेछ । श्रेष्ठका अनुसार असारभित्र २ वटा युनिटबाट बिजुली उत्पादन थाल्ने लक्ष्य छ ।
आयोजनामा जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रो/इलेक्ट्रोमेकानिकल उपकरणहरुको सबै प्रकारका परीक्षणहरु सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।
आयोजनाबाट उत्पादित विद्युत गोंगर-खिम्ती-ढल्केबर २२० केभी प्रसारण लाइन मार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । यसका लागि प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको छ भने लाइनको सफल परीक्षण भएको छ ।माथिल्लो तामाकोसीको विद्युतगृह दोलखाको गोंगरबाट रामेछापको खिम्तीसम्मको ४७ किलोमिटर २२० केभी प्रसारण लाइन बनेको छ । खिम्तीमा निर्माणाधीन २२० केभीको न्यू खिम्ती सबस्टेसनको परीक्षण सकिएको छ ।हाललाई भने वैकल्पिक व्यवस्था गरी आयोजनाको विद्युत न्यू खिम्ती सबस्टेसनमा नलगी सिधै ढल्केबर सबस्टेसनमा जोडेर राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ ।सबस्टेसनको निर्माण सम्पन्न भएपछि आयोजनाको विद्युत न्यू खिम्तीबाट ढल्केबरतर्फ र खिम्ती-लामोसाँघु-भक्तपुर प्रसारण लाइनमार्फत काठमाडौं उपत्यकातर्फ प्रवाह गरिने छ ।
आयोजनाको साइट कार्यालय, आयोजनास्थलसम्मको पुहँच सडक, पुललगायतका पूर्वाधार निर्माणको कार्य आर्थिक वर्ष २०६२/६३मा र मुख्य संरचनाहरुको निर्माण आर्थिक वर्ष २०६७/६८मा सुरु भएको थियो । २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवम् बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।
लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरणहरु उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो ।भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, महामारीको रुपमा विश्वभर फैलिएको कोभिड-१९ लगायतले आयोजनाको निर्माण प्रभावित भएको थियो ।
लट २ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिइएको थियो ।
FACEBOOK COMMENTS