काठमाडौं, २८ वैशाख । कोरोना महामारीको बढ्दो संक्रमणका बीच नेपाल प्रहरीले देशभरबाट विभिन्न व्यवसायिक प्रयोजनमा रहेको ५ हजार ४३२ वटा अक्सिजन सिलिण्डर संकलन गरेको छ । सोमबार तथ्यांक सार्वजनिक गर्दै नेपाल प्रहरीले यस्तो जानकारी गराएको हो ।
प्रहरीले देशभरबाट १४ सय ४१ वटा भरि सिलिण्डर र ३९ सय ९१ वटा सिलिण्डर खाली संकलन गरेको जानकारी दिएको छ । संकलन भएका सिलिण्डरमध्ये विभिन्न अस्पताललाई ४५ सय ८५ वटा सिलिण्डर वितरण गरिएको छ । अब प्रहरीसँग ८४३ वटा सिलिण्डर बाँकी छन् ।
यी सिलिण्डर जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला स्थित प्रहरी कार्यालयमा राखेर आवश्यकता अनुसार वितरण गरिने नेपाल प्रहरीले बताएको छ । सरकारले देशभरका उद्योगहरुमा रहेका अक्सिजन सिलिण्डर सरकारलाई दिन आहृवान गरेको थियो ।
सोही अनुसार नेपाल प्रहरीले सिलिण्डर संकलन थालेको हो । पछिल्लो समय उद्योगी स्वयमले उद्योगहरुमा रहेका सिलिण्डर कोरोना महामारीभर सरकारलाई दिन अभियान नै शुरु गरेका छन् ।
FACEBOOK COMMENTS