काठमाडौं, वैशाख ३१ – नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको नेपाल महिला चेम्बरको आयोजनामा प्रोडक्ट प्याकेजिङ र ब्राण्डिङसम्बन्धी कार्यशाला आज शुक्रबार सम्पन्न भएको छ । जीबीजी नेपालको सहयोगमा आयोजित कार्यशाला भर्चुअल प्लेटफर्म गुगल मिटमार्फत गरिएको हो ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्शकी कार्यकारिणी सदस्य समेत रहेकी नेपाल महिला चेम्बरकी सचिव लिमा अधिकारीले स्वागत मन्तव्य राख्दै विगतदेखि नै महिला उद्यमीहरुको प्रतिस्पर्धात्मक क्षमतालाई अभिवृद्धि गर्दै जाने योजनाबमोजिम यस किसिमको कार्यशाला आयोजना गरिएको जानकारी दिइन् ।
साथै उनले ब्रान्डिङ र प्याकेजिङ प्रतिस्पर्धी उत्पादनको महत्त्वपूर्ण अंश भएकाले यस किसिमको कार्यशालाले उद्यमशीलता विकासमा टेवा मिल्ने धारणा व्यक्त गरेकी छिन् ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष समेत रहेकी नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले विशेषगरी महिला उद्यमशीलता विकासका लागि प्याकेजिङसम्बन्धी ज्ञानका लागि सहजीकरण गर्नुपर्ने आवश्यकता महशुश गरिएकाले कार्यशालाको आयोजना गरेको बताइन् । साथै, उनले प्याकेजिङ र ब्रान्डिङ्ले बजारीकरणमा सघाउ पुर्याउने हुँदा कार्यक्रमलाई नेपाल चेम्बर र महिला चेम्बरले प्राथमिकतामा राख्दै आएको जानकारी पनि दिइन ।
प्याकेजिङले विश्वव्यापी बजारमा प्रायः एक र अर्को उत्पादनबीचको भिन्नता दर्शाउने तथा प्रभावकारिता झल्काउने, ब्राण्डिङ गर्ने आदि काम भएकाले पनि हालको कोभिड–१९ कहरमाझ आयोजित कार्यशाला फलदायी हुने विश्वास अध्यक्ष श्रेष्ठले व्यक्त गरेकी छिन् ।
कार्यक्रममा सहयोगी संस्था गुगल बिजनेश ग्रुपकी अदिति गोयलले ग्रुपको बिषयमा प्रकाश पार्दै व्यापार सफलताका लागि वेब टेक्नोलोजीहरुको बारेमा ज्ञानलाई साझा गर्ने हेतु व्यावसायिक पेशेवरहरुको समुदायका रुपमा रहेको बताइन् ।
कार्यशालामा प्रोडक्ट प्याकेजिङ ट्रेनर सुस्मिता थापाले प्रशिक्षण दिएकी थिइन् । थापाले प्याकेजिङको महत्वबारे कार्यपत्र प्रस्तुत गर्दै प्याकेजिङले प्रतिकात्मक रुपमा चिनाउने, ब्राण्डिङ गर्ने, उपभोक्तालाई जागरुक गराउने जस्ता कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै प्याकेजिङ गर्दा रङ्, अक्षर, सामग्री आदिलाई ध्यान दिन जरुरी रहेको उल्लेख गरिन् ।
सो अवसरमा सहभागीहरुले उत्पादन विशेष प्याकेजिङ कसरी गर्ने भन्ने बिषयमा जिज्ञासा राखेका थिए । कार्यशालामाझ उठेका सवालउपर महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठले प्याकेजिङ गर्दा खाद्य ऐन, अनुज्ञापत्र, लेबलिङ आदि विषयमा ध्यान दिन आवश्यक रहने उल्लेख गरिन् । कार्यपत्र प्रस्तुतकर्ता थापाले प्याकेजिङसम्बन्धी विविध सवालमा जवाफ पेश गरेकी थिइन् ।
कार्यशालामा चेम्बरसम्बद्ध सदस्य एवम् महिला उद्यमीहरुको सहभागिता थियो । सहभागीहरुलाई निःशुल्क रुपमा प्रशिक्षण दिइएको हो ।
FACEBOOK COMMENTS