काठमाडौं, पुस ६ -अर्थमन्त्री डा युवराज खतिवडाले पछिल्लो समयमा फाइनान्सियल फ्रड निकै हुन थालेको भन्दै लेखापरीक्षकहरुलाई त्यसमा ध्यान दिन आग्रह गरेका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) आयोजना गरेको राष्ट्रिय सम्मेलनमा आइतवार उनले यस्तो भनाई राखेका हुन्।
काठमाडौंमा भएको सम्मेलन अन्तर्गत आइक्यानको ‘प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटीङ करप्सन फ्रड’ विषयको अन्तरक्रियामा अर्थमन्त्री खतिवडाले लेखापरीक्षकलाई फ्रड कम्पनीको पनि मज्जैले अडिट गर्ने काम नगर्न आग्रह समेत गरेका छन् । उनले भने ‘गलत कम्पनी दर्ता हुने, गलत वासलात तयार हुने र त्यसैको लेखापरीक्षण हुने गरेको छ,’ उनले भने, ‘कुनै कारोबारको जरोदेखि नै गलत कृयाकलाप सुरु हुने गरेको छ, त्यसलाई सदर गर्ने भूमिका लेखापरीक्षकको हुनु भएन।‘
वित्तीय क्षेत्रका नियामक कानून बन्ने क्रममा रहेको र त्यसले नियामक नियामक निकायले राम्रोसँग हेरेको खण्डमा त्यस मातहतमा हुने भ्रष्टाचार रोक्न सकिने उनले बताए । नेपाल राष्ट्र बैंंक ऐन, बैंक तथा वित्तीय संस्था ऐन, बीमा ऐन, धितोपत्र ऐन, कम्पनी ऐन संशोधनको प्रकृया अघि बढेको बताए । मन्त्री खतिवडाका अनुसार हिउँदै अधिवेशनमा यी मध्ये धेरै ऐन पास हुने बताए ।
अर्थमन्त्री खतिवडाले हरेक पेशा र व्यवसायमा संलग्न हुने व्यक्तिले मूल्य मान्यता बाहिरका काम गर्न नहुने भन्दै चार्टर्ड एकाउन्टेन्ट, वकिललगायतका जोसुकै व्यक्तिले पनि व्यावसायिक आचारसंहिता र नैतिकताको सीमा बिर्सिन नहुने बताए।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले चालू आर्थिक वर्षमा भ्रष्टाचार विरुद्धका २ सय ६ वटा मुद्दा दायर भइसकेको जानकारी दिए। लेखापरीक्षकले आर्थिक अनियमितता लुकाउने गरी काम गर्न नहुनेमा पनि घिमिरेले जोड दिए। ‘हामी सबैले बुझ्नुपर्छ, भ्रष्टाचार निवारणमा लेखापरीक्षकको भूमिका हुन्छ, त्यसमा यहाँहरुले पनि व्यावसायिक र नैतिक दायराभित्र बसेर काम गर्नुपर्छ,’ घिमिरेले भने ।
FACEBOOK COMMENTS