काठमाडौं, चैत १० – फागु पूर्णिमाको रातमा पोखरामा ‘फुलमुन बन्जी’ एड्भेन्चर्स खेल आयोजना हुने भएको छ । हाइग्राउन्ड एड्भेन्चर्स नेपालद्वारा संचालित पोखराको हेम्जामा रहेको बन्जी जम्पमा चैत्र १५ गते अर्थात् फागु पूर्णिमाको रातमा ’फुलमुन बन्जी’ हुने भएको हो ।साहसिक खेलमा फरक स्वाद दिन पहिलो पटक पोखरामा फुलमुन बन्जी संचालन गर्न लागिएको आयोजक कम्पनी हाइग्राउन्ड एड्भेन्चर्सले बताएको छ ।
पोखरामा साहसिक पर्यटनका लागि अन्य खेलहरु भएपनि बन्जी जम्प रातमा अन्यत्र नभएको कम्पनीका सीओओ दिनेश मर्हजनले बताए। रातमा त्यो पनि पूर्णिमाको टहटह जुनेली रातमा बन्जी जम्प गर्नुको मज्जा नै बेग्लै हुन्छ । यसले एड्भेन्चर्स खेलमा थप ‘थ्रील’ र रोमाञ्चकता थप्नेमा हामी विश्वस्त छौं’ महर्जनले भने ।सो अबसरमा आयोजक कम्पनीले फुलमुन बन्जी सुरु हुनु अगाडि म्युजिकल इभेन्टहरु समेत संचालन गर्ने जनाएको छ । कार्यक्रम साँझ ७ बजे देखि राति ११ बजे सम्म सञ्चालन गरिनेछ फुलमुन बन्जी गर्न प्रतिव्यक्ति ५ हजार लाग्ने सिइओ महर्जनले जानकारी दिएका छन् । फुलमुन बन्जीको यस छैठौं संस्करणमा करिब ५० जनालाई सहभागी गराउने लक्ष्य कम्पनीले लिएको र प्रिबुकिङ समेत सुरु भइसकेको छ ।
मंगलम ग्रुप र गोल्छा अर्गनाइजेसनको संयुक्त लगानीमा हेम्जामा बन्जीजम्प संचालन भएको करिब एक दशक भैसकेको छ । यो नेपालमा संचालित पहिलो टावर बन्जीजम्प पनि हो ।
४५ मिटर लामो पुल आकारको क्यान्टिलिभर टावरबाट ७२ मिटर तलको याम्दी खोला किनारमा बन्जीजम्प गराउने गरिएको छ । कम्पनीले पोखरामै सराङकोटदेखि हेम्जासम्म नेपालकै पहिलो र लामो जीपलाइन समेत संचालन गरिरहेको छ ।
FACEBOOK COMMENTS