काठमाडौँ, साउन १२ – अर्काको सामाजिक सञ्जाल फेसबुक आइडीमा अनाधिकृत रुपमा पहुँच बनाएर आर्थिक ठगी गर्ने एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरीको दुहबीका २३ वर्षीय सविर आलम रहेका छन ।
महानगरीय अपराध महाशाखाले जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा दुहवीबाट उनलाई पक्रेको हो ।
आलमले विभिन्न व्यक्तिको फेसबुकमा अनाधिकृत रुपमा पहुँच बनाएर ती व्यक्तिको आफन्तसँग पैसा अत्यावश्यक भएको भन्दै १० हजारदेखि ५० हजार रुपैयाँसम्म माग्ने गरेको पाइएको छ ।
‘फेसवुक प्रयोगकर्ताको एकजना आफन्तले पठाएको ५० हजार निकाल्न जाँदा साविरलाई पक्रेका हौं’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी दिपक थापाले भने–‘बैंक ट्रान्जेक्सन हेर्दा ठुलो परिमाणमा आर्थिक कारोबार गरेको देखिएको छ, थप अनुसन्धान गर्दैछौँ ।’
प्रहरीका अनुसार हालसम्म आलमले ७५ हजार रुपैयाँ ठगी गरेको जाहेरी परेको छ । तर, उनको बैंक खातामा ठूलो परिमाणको कारोबार रहेको पाइएकोले विस्तृत अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS