काठमाडौं, माघ ६- कोरोनाको समयमा बालबालिकाको तौलको वृद्धि भएको छ । अमेरिकी वैज्ञानिकले आफ्नो एक अनुसन्धानमा यो कुराको दाबी गरेका छन् । अनुसन्धानमा बताइए अनुसार महामारीपछि बालबालिका घरबाट बाहिर निस्कन पाइरहेका छैनन् । घरमै बसेका कारण उनीहरुको खाने बानीमा पनि परिवर्तन भएको छ । शारीरिक क्रियाकलाप पनि पहिलेको जस्तो रहेन । जसका कारण उनीहरुको तौलमा वृद्धि भएको छ । जुन गम्भीर रोगको कारण बन्न सक्छ ।
तौल बढ्नु एक गम्भीर समस्या हो । यदि बालबालिकाको तौल आवश्यकताभन्दा बढी छ भने उनीहरुमा विभिन्न प्रकारका शारीरिक र मानसिक समस्या हुनसक्छन् । रोबर्ट वुड जनसन फाउन्डेशनका अध्यक्ष डाक्टर रिचर्ड बेसरका अनुसार फिट बालबालिकाको तुलनामा बढी तौल भएका बालबालिकाले आफ्नो शारीरिक र मानसिक क्षमताको कम प्रयोग गर्न सक्छन् ।
बालबालिकालाई फिट राख्नका लागि दुईवटा कुरा ध्यानमा राख्नुपर्छ । एउटा उनीहरुको खानपिन र अर्को शारीरिक क्रियाकलाप । एउटा स्वस्थ डाइट चार्ट र तालिका बनाएर तपाईं आफ्नो बालबालिकालाई राम्रो स्वास्थ्य उपहार दिन सक्नुहुन्छ । डाक्टर काट्जा रोवेलका अनुसार तौल बढ्दा निम्तिने समस्या वयस्कको तुलनामा बालबालिकामा बढी भयानक हुन्छ । तसर्थ अभिभावकले उनीहरुको खानपिन र क्रियाकलापप्रति बढी नै सतर्क हुनुपर्छ ।
विशेषज्ञका अनुसार बालबालिकालाई जंक फूडबाट टाढा राख्न अत्यावश्यक छ । अभिभावकले बालबालिकाका लागि यस्तो विकल्पको खोजी गर्नुपर्छ जुन प्याकेटमा बन्द खानेकुराको विकल्प हुन सकोस् । जंक फूडले बालबालिकामा कोलेस्ट्रोलको स्तर आवश्यकताभन्दा बढी नै बढाइदिन्छ । जसका कारण बालबालिकालाई आवश्यक पोषक तत्वको अत्यधिक कमी हुन्छ र फ्याटका कारण बालबालिकाको तौल बढ्ने गर्छ ।
कोरोनाको समयमा बालबालिकामा मोबाइल, कम्प्युटर र टिभीको अगाडि धेरै बेरसम्म बस्ने बानी बढेको छ । अभिभावकले बालबालिकाको स्क्रिन टाइम कसरी कम गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । यसले बालबालिकाको स्वस्थ बानी नष्ट गरिदिने गर्छ । यसले बालबालिकालाई अल्छी बनाउँछ जुन तौल बढ्ने सबैभन्दा ठूलो कारण हो ।
बालबालिकाले नियमित शारीरिक क्रियाकलाप गर्न अत्यावश्यक छ । यदि यस्तो भइरहेको छैन भने अभिभावकले यसबारे सोच्नुपर्छ । विज्ञका अनुसार पाँच वर्षभन्दा कम उमेरका बालबालिकाले दैनिक कम्तिमा आधा घण्टाको व्यायाम गर्नुपर्छ । यसले बालबालिकालाई शारीरिक रुपमा फिट त गराउँछ नै उनीहरु मानसिक रुपमा पनि फिट हुन्छन् ।
मानसिक रुपमा बालबालिका तनावमा हुँदा पनि तौल बढ्ने गर्छ । तसर्थ अभिभावकले बालबालिकाको मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ । यदि आफ्नो बच्चा तनावमा छन् भने उनीहरुलाई उत्प्रेरित गर्ने जिम्मेवारी अभिभावकको हो ।
FACEBOOK COMMENTS