काठमाडौं, पुस २४ – बनेपामा आयुर्वेद पञ्चकर्म हेल्थ होम एण्ड रिसर्च सेन्टरले सेवा सुरु गरेको छ। सेन्टरको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गरेका हुन्।
सेवा सुरु गरेको अवसरमा सेन्टरले पुस १३ गतेदेखि एक हप्ताको लागि चिकित्सकको शुल्क नि:शुल्क गरेको थियो भने अन्य सेवाहरूमा ५० प्रतिशत छुट गरेको थियो। पञ्चकर्म सेवा पूर्णरूपमा नेपालको कुनै पनि अस्पतालमा छैन भने त्यसका विज्ञ पनि नेपालमा कम संख्यामा छन्। यस चिकित्सालाई अत्यन्त महंगो चिकित्सा पनि मानिन्छ।
पञ्चकर्म भन्नाले पाँच कर्मभित्र पर्ने वमन, विरेचन, बस्ती, नस्य र रक्तमोक्षण भन्ने बुझिन्छ। जुन कर्महरु ऋतु र मानिसको प्रकृतिअनुसार वर्षमा एकचोटी गर्नाले शरीर भित्र रहेका विकारहरूलाई निकाल्ने काम गर्दछ भने नयाँ हुन लागेका रोगहरुलाई रोक्न ठुलो भूमिका खेल्दछ।
समयसमयमा मानिसहरूले रुटिन चेकजाँच गरेजस्तै पञ्चकर्म विज्ञसँग भेटेर आफ्नो शरीरमा बढेको दोषहरू वात पित्त र कफ छुट्याएर त्यसैअनुसारको पञ्चकर्मको सुविधा लिनाले रोग लागेको थाहा पाउने मात्र नभई रोग लाग्नै नदिन सहयोग पुग्ने बताइएको छ।
आयुर्वेद पञ्चकर्म हेल्थ होम एण्ड रिसर्च सेन्टरकी निर्देशक डा सबिता भण्डारीले भविष्यमा सम्पूर्ण रोगहरुको विशेषज्ञ सुविधा दिने लक्ष्य राखेको जानकारी दिइन्। ‘अहिले मुख्यतया पञ्चकर्म एवं योगको सुविधा प्रदान गरिरहेका छौं। रोग लाग्ननै नदिने चिकित्साको रूपमा पञ्चकर्म भएको र यही कुरालाई हामीले जोड दिएका छौं’ उनले भनिन्।
सेन्टरका अध्यक्ष ग्रुवेन तौजलेका अनुसार बनेपामा यस किसिमको संस्था पहिलो पटक भएको र यसले बनेपा, पनौती, धुलिखेलसहित सिन्धुपाल्चोक, भक्तपुर र काभ्रे लगायतका स्थानका बिरामीले सुविधा पाउने छन्।
FACEBOOK COMMENTS