बर्दिया, जेठ १३ – जिल्ला प्रहरी कार्यालय बर्दियाले सडक किनारामा बेवारिसे अवस्थामा पार्किङ गरेको कार राजश्व अनुसन्धान कार्यालयलाई बुझाएको छ । इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट प्रहरी निरीक्षक वीरेन्द्र सिंह थापाको कमाण्डमा गत बुधबार खटिएको गस्ती टोलीले उक्त कार फेला पारेको थियो ।
गस्तीको क्रममा बर्दियाको बाँसगढी नगरपालिका–५ स्थित सडक खण्डको छेउ किनारामा पार्किङ गरी राखेको सिल्भर रंगको बा १४ च ४८ नम्बर लेखिएको कार प्रहरीले फेला पारेको हो ।
प्रहरीका अनुसार अन्दाजी १२ लाख रुपैयाँ मूल्य पर्ने सो कार बेवारिसे अवस्थामा फेला पारी आवश्यक अनुसन्धान कार्य पूरा गरी आज बिहीबार थप अनुसन्धानका लागि राजश्व अनुसन्धान क्षेत्रीय इकाई कार्यालय कोहलपुरलाई बुझाएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।