काठमाडौं, कात्तिक २१ – बागमती प्रदेश सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ४८ करोडभन्दा बढी रकम खर्चिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हालसम्म प्रदेश सरकारले कोरोना कोषबाट ४८ करोड २८ लाख रुपैयाँ खर्चिएको हो ।
प्रदेशका १३ वटै जिल्लाका स्थानीय तहलाई कोरोना नियन्त्रणका लागि १३ करोड ६७ लाख दिइएको छ । स्थानीय तहलाई दिइएको रकमबारे हालसम्म विवरण प्राप्त नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेशले महानगरलाई ६० लाख, उपमहानगरलाई १५ लाख, नगरलाई १२ लाखका दरले रकम निकासा गरेको कार्यालयका योजना महाशाखा प्रमुख रमेश सुवेदीले जानकारी दिए ।
प्रदेशले स्थानीय तहलाई दिइएको रकमबाहेक बाँकी ३४ करोड ६१ लाख सामाजिक विकास मन्त्रालयमार्फत विभिन्न शीर्षकमा खर्च गरिएको छ । मन्त्रालयबाट गत असार मसान्तसम्म १८ करोड ८० लाख रुपैयाँ खर्च गरेको थियो । त्यसयता तीन महिनाको अवधिमा थप १५ करोड ८१ लाख रुपैयाँ खर्च गरेको मन्त्रालयले जनाएको छ । कोषमा १४ करोड ९३ लाख २४ हजार रुपैयाँ मात्र बाँकी छ ।
FACEBOOK COMMENTS