काठमाडौं, रेडियो नेपालले विज्ञप्ती जारी गर्दै क्षमा याचना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रयोग गरेको भाषालाई कारण देखाउदै रेडियो नेपालले माफीको शैलीमा क्षमा मागेको हो ।
सोमबार बिहान ६:३० बजे लाइभ प्रशारण भएको अन्तरसंवाद कार्यक्रममा जनता समाजवादी पार्टीका नेता भट्टराईसँग डा. नवराज लम्सालले कुराकानी गरेका थिए । उक्त कार्यक्रममा भट्टराईले बोलेका अभिव्यक्तिले आफूहरूलाई दु:खी तुल्याएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सोमबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
‘समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुखी तुल्याएको छ, अतिथी चयन गर्दा गम्भीर रूपमा सचेत रहने प्रतिवद्धता व्यक्त गर्दछौं।’ विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै, रेडियो नेपालले आजको उक्त कार्यक्रम अनलाइनबाट समेत हटाएको बुझिएको छ ।
FACEBOOK COMMENTS