काठमाडौं, असोज ३० – रौतहटमा १४ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
डेढ साताअघि रौतहटको बृन्दावन नगरपालिका-४ मा गढिमाई नगरपालिका १ समनपुर घर भएकी १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय चुनु साहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
गत असोज १६ गते घर नजिकैको उखुबारीमा घाँस लिन गएकी बालिकालाई गाउँकै ४५ वर्षीय साहले बलात्कार गरेका थिए । बालिकाले अभिभावकलाई भन्ने डरले चुनुले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए ।
‘बालिकालाई सुरुमा फकाए छ । त्यसपछि बलात्कार गरेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने,‘घट्ना सार्वजनिक हुने डरले बालिकाको हत्या भएको खुलेको छ ।’
बालिकाको हत्या गरी साह फरार थिए । बालिका वृन्दावन नगरपालिका-४ पलटुवास्थित मामा बैनाथी साहको घरमा बस्दै आएकी थिइन् ।
पक्राउ परेका साहलाई जिल्ला अदालतबाट १५ दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
FACEBOOK COMMENTS