काठमाडौं, मंसिर ३० – कञ्चनपुर बेल्डाँडी गाउँपालिका–५ की २० वर्षीया सीमा (नाम परिवर्तन) र लालझाडी गाउँपालिका–७ का २५ वर्षीय जगत (नाम परिवर्तन) गएको वैशाखमा एक आपसमा परिचय भयो । एकआपसमा परिचित भएसँगै दुवैजना भेटघाट र कुराकानी गर्न थाले । सोही क्रममा उनीहरूबीच प्रेम बस्यो । प्रेम बसेसँगै बेलौरी नगरपालिका–७ मन २५ वर्षीय जगतले सीमासँग बिहेको प्रस्ताव राखे ।
लामो समयको गहिरो प्रेमपछि जगतका विवाहको प्रस्ताव सीमाले नकार्न सकिनन् । हिँड्दा, उठ्दा, बस्दा उनलाई जगतकै याद आउँथ्यो । त्यसमा पनि मिलेको जिउडाल, कपालको स्टाइलले सीमाको मन जगततिर तानिएको थियो । जगतले बारम्बार सीमासँग बिहेको प्रस्ताव गरिरहे ।
घरमै आएर प्रेम प्रसंगबारे बताएपछि सीमाका दाइले जगतसँग उनको बिहे गरिदिए । यही मंसिर २६ गते उनीहरूको प्रेम विवाहमा परिणत भयो । प्रेमीप्रेमिकाको सम्बन्धलाई श्रीमान् श्रीमतीका रूपमा अगाडि बढाउन खोजेका उनीहरूको जीवनमा भने समयले अर्कै मोड ल्याइदियो । विवाह भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी क्षेत्रमा डेरा गरी बस्ने निर्णय लिए । तर, बिहे गरी ल्याएको पहिलो रात मात्र सीमालाई जगत केटा नभएर केटी नै भएको थाहा भयो ।
सँगै सुत्दासमेत शारीरिक सम्बन्ध नराख्ने र पछि हट्न थालेपछि सीमाले यसबारे थाहा पाएकी थिइन् । ‘म पनि केटी नै हुँ भनेर जगतले स्वीकारेपछि मात्र सीमाले माइतीलाई यसबारे जानकारी गराइन् । रुँदै अभिभावकलाई सीमाले जगतबारे सबै बताएपछि उनका माइती चकित मात्र भएनन् सबैको होससमेत उड्यो ।
‘न्यायका लागि भन्दै हामी कहाँ आउनुभएको थियो,’ कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने । ‘युवती पक्षले झुक्याएर विवाह गरेको आरोप लगाएका छन् । तर, स्पष्ट कानुनी व्यवस्था नहुँदा मुद्दा अगाडि बढाउन सकिएन ।’ प्रहरीले अहिले दुवैजनालाई सम्झाइबुझाइ गरी परिवारको जिम्मा लगाएको छ । विगतमा झुक्याएर विवाह गर्नेलाई कारबाही गर्ने व्यवस्था भए पनि गतवर्षको भदौदेखि लागु भएको मुलुकी संहितामा भने सो व्यवस्था नहुँदा समस्या भएको प्रहरीले जनाएको छ ।
जगतका परिवारका अनुसार उनले सानैदेखि केटी भएर पनि केटाकै हाउभाउ देखाउने गरेका थिए।
FACEBOOK COMMENTS