काठमाडौं, वैशाख २९ – बीमा कम्पनीहरूका सबै शाखा कार्यालय बन्द गर्न बीमा समितिको निर्देशन दिएको छ । काठमाडौं उपत्यकामा कोभिड–१९ को दोस्रो लहर बढेको भन्दै शाखा कार्यालयहरु बन्द गर्न समितिले निर्देशन दिएको हो ।
समितिले सरकारद्वारा निषेधाज्ञा थप भएको मिति अवधिभर शाखा कार्यालयहरू सबै बन्द गर्न निर्देशन दिएको हो । सरकारले काठमाडौं उपत्यकामा आगामी जेठ १३ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।
यद्यपि, समितिले बीमा कम्पनीहरुका केन्द्रीय कार्यालय सञ्चालन गर्न भने छूट दिएको छ । तर, केन्द्रीय कार्यालयमा बीमा सेवा प्रदान गर्न जनस्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरी १० जनासम्मको कर्मचारीबाट सेवा प्रवाह गर्न सकिने समितिको निर्देश्न छ ।
बीमा सेवा सुचारु गर्नका लागि बीमा समितिबाट बीमा कम्पनीहरुका लागि पहेलो रंगका सवारी पास उपलब्ध हुने पनि समितिले स्पष्ट पारेको छ ।
काठमाडौं उपत्यका बाहिरका प्रादेशिक तथा शाखा कार्यालयहरु सञ्चालनको हकमा भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी सेवा प्रवाह गर्न सकिने समितिले जानकारी गराएको छ ।
यो अवधिमा विद्युतीय माध्यमबाट बीमाशुल्क संकलन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिँदै समितिले विद्युतीय माध्यमबाट पनि बीमाशुल्क भुक्तानी नभएको अवस्थामा निषेधाज्ञा अवधि समाप्त भएको १५ दिनसम्म व्याज नलिइ बीमाशुल्क संकलन गर्नुपर्ने समितिको निर्देशन छ ।
FACEBOOK COMMENTS