बीरगन्ज, १२ भदौ । गत साउन १० गतेबाट बीरगन्जमा लागु भएको निषेधाज्ञाको बीरगन्जका व्यापारीहरुले अवज्ञा गर्दै पसल व्यवसाय सञ्चालन गरेका छन् । एक महिना लामो निषेधाज्ञाका कारण व्यापार प्रभावित भएपछि हातमुख जोड्नै समस्या भएको भन्दै व्यापारीहरुले पसल सञ्चालन गरेका हुन् ।
बीरगन्जको घण्टाघरदेखि आदर्शनगरसम्म मेनरोडमा रहेका पसलहरु सञ्चालन गरिएको हो । निषेधाज्ञा भएपनि कर, बैंकको ब्याज, बिजुली महशुल, घर भाडा लगायतका शुल्क तिर्नै पर्ने भएका कारण पसल व्यवसाय सञ्चालन गर्नुको विकल्प नभएको स्थानिय व्यवसायीहरुको भनाई छ ।
“सरकारले कर मिनाहा गर्दैन, बैंकले ब्याजमा सहुलियत दिँदैन । अनि पसल बन्द गरेर कहाँबाट तिर्ने ”, आदर्शनगरका एक व्यवसायी भन्छन्, “दैनिकी चलाउन पनि नसकिने अवस्था आईसक्यो ।”
साउन १० गतेबाट निरन्तरको निषेधाज्ञाले व्यवसाय धारासायी हुनुका साथै दैनिक जनजिवन कष्टकर हुन थालेपछि निषेधाज्ञा अवज्ञा गरि पसल सञ्चालन गरेको व्यवसायीहरुको भनाई छ ।
समुदायमा फैलिएको संक्रमणको चेन ब्रेक गर्न स्थानिय प्रशासनले गत साउन १० गतेबाट बीरगन्जमा र साउन २२ गतेबाट जिल्लाभरि निषेधाज्ञा लागु गरेको हो ।
FACEBOOK COMMENTS