काठमाडौं, मंसिर १६-बूढानीलकण्ठ नगरपालिकाको प्रशासकीय भवनको आज समुदघाटन् भएको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पाँचौ नगर स्थापना दिवसको अवसर माझ नगरपालिकाको तीन तले नव निर्मित भवनको उद्घाटन गरेका छन् ।प्रमुख अतिथि पोख्रेलले शिलालेख अनावरण तथा झण्डोत्तोलन गरी नवनिर्मित भवनको समुद्घाटन गरेका थिए ।
भवनको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरेलले, ‘सरकार कुनै अधिनायकवादमा नभई जनताको विश्वासको मतमा अघि बढ्ने बताए ।’
कार्यक्रमका विशिष्ट अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले, नगरपालिकाले प्रदान गरिरहेको सेवा अझ चुस्त र प्रभावकारी बनाउन नवनिर्मित भवनले थप सहयोग पुग्ने आशय ब्यक्त गरे ।
त्यसै गरि कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य दीपक निरौलाले, ‘विकासमा अगाडि बढिरहेको बूढानीलकण्ठ नगरपालिकाको नवनिर्मित भवनबाट नगरवासीले एकीकृत सेवा पाउने दाबी पेश गरे ।
सो अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले एकीकृत योजना बनाएर विकास निर्माणको कार्य अघि बढाउनुपर्ने सुझाव पेश गर्दै महानगरपालिकाले आर्थिक साझेदारीअन्तर्गत गतवर्ष जस्तै काठमाडौँका विभिन्न नगरलाई यसवर्ष पनि रु एक–एक करोड छुट्याएको अवगत गराए ।
कार्यक्रमका सभाध्यक्ष -नगरप्रमुख उद्धवप्रसाद खरेलले, विकास निर्माण र सुशासनमा अगाडि बढिरहेको नगरपालिकाको नवनिर्मित भवनले जनसेवा र पारदर्शीतामा अझ सघाउने राय ब्यक्त गरे ।
भवन निर्माणसंगै बूढानीलकण्ठ नगरपालिका नयाँ नगरपालिकाहरु मध्ये उपत्यकामै निर्माण सम्पन्न भई आफ्नो भवनमा सर्ने पहिलो नगरपालिका बनेको छ । भवन निर्माणको कूल लागत १० करोड नौ लाख ४३ हजार रहेको सो अवसरमा जानकारी गराईएको छ ।
नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले कार्यक्रम संचालकको भूमिका निर्वाह गरेको सो कार्यक्रममा कार्यपालिका सदस्यहरु सुमित्रा त्रिपाठी पाण्डे, शान्ता ढकाल, दुर्गा थापाले अतिथिहरुलाई खादा ओढाई सम्मान गरेका थिए भने नगर उपप्रमुख रमादेवी राईले सहभागी माझ स्वागत मन्तव्य राखेकी थिईन ।
कार्यक्रममा प्रदेश सभा सदस्य न्हुच्छे नारायण श्रेष्ठ, कुसुम कुमार कार्कीले स्वागत मन्तव्य राखेका थिए भने भवन निर्माणमा योगदान गर्ने व्यक्तित्वहरु सम्मानित गरिएको थियो ।
FACEBOOK COMMENTS