काठमाडौं, २० फागुन – बेनी-जोमसोम सडकखण्डमा मंगलबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ। यो निर्णयसँगै मुस्ताङ प्रवेश गर्ने र बाहिरिने सबै सवारी साधनलाई सडक निर्माणको क्रममा रोक लगाइने छ। राष्ट्रिय गौरवको बेनी/जोमसोम ७६ किमी निर्माणधिन सडकलाई गतिदिन यो निर्णय भएको निर्माण कम्पनीले जनाएको छ।
जसअन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका-१ को तिप्ल्याङ क्षेत्र, म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ को बादरजुङ्गे भीर र मुस्ताङको थासाङ गाउँपालिका-४ को घाँसा देखि लेतेसम्मको निर्माणधिन सडकको कामलाई बाधा नपुग्ने गरी दैनिक सडक बन्द गर्ने निर्णय भएको बेनी-जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए।
सडक सुपरभाईजर शेरचनले अन्नपूर्णलाई दिएको जानकारी अनुसार अब दैनिक बिहान ७ बजे देखि ११ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साँझ ६ बजेसम्म सडक निर्माणको काम हुनेछ। सो समयमा यातायात ठप्प हुनेछ।
बेनी-जोमसोम सडक ४ प्याकेजमा काम भइरहेको छ। निर्माण कम्पनीले म्याग्दीको अन्नपूर्ण -३ र मुस्ताङको थासाङ-४ को सीमाक्षेत्रमा पर्ने बादरजुङ्गेभीरमा सडक चौडा गर्नका लागि रककटिङको काम गरिरहेको छ।
यस्तै, अन्य स्थानमा माटो फिलिङ गर्ने, वाल लगाउने र नाली निर्माण गर्ने काम भइरहेको सुपरभाइजर शेरचनले बताए। राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकको काम २०७४ सालबाट सुरु भएको हो। बेनी-जोमसोम ४ खण्ड र जोमसोम-कोरला ७ खण्डमा काम सुरु गरिएको हो।
FACEBOOK COMMENTS