काठमाडौं, पुस ९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट वा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका व्यक्तिलाई कम्तीमा १० दिन होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।
सरकारले गत १ पुसदेखि ७ पुससम्म त्यहाँबाट आउने व्यक्तिमा नयाँ खालको कोरोना भाइरसको संक्रमण हुन सक्ने भन्दै सरकारले १० दिन होटेल क्वारेन्टिनमा बस्न र नेपाल प्रवेश गरेको सातदेखि १० दिनभित्र पीसीआर परीक्षण गर्न आग्रह गरको हो ।
बेलायतका ६० भन्दा बढी स्थानीय तहमा नयाँ स्वरूपको कोरोना भाइरस फैलिएको र कोभिड–१९ भन्दा बढी हानिकारक रहेको पाइएको अध्ययनहरूले देखाएका छन् ।
पछिल्लो समय बेलायतमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संयुक्त अधिराज्यमा नयाँ प्रकारको कोरोना भाइरसको प्रजाति देखापरेकाले सो भाइरसको संक्रमण, नियन्त्रण र रोकथाममा सरकारले प्राथमिकताका साथ कार्य गर्दै आएको बताए ।
यस्तै देशभर बुधबार ७ सय ४३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ६ हजार ५ सय ५९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म देशभर १८ लाख ९० हजार ७ सय ४० जनाको पीसीआर परीक्षण भएको छ ।
यस्तै कुल संक्रमितमध्ये हालसम्म १ हजार ८ सय ३ पुगेको छ । देशभर ४ सय ९ जना क्वारेन्टिनमा रहेका छन् । देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४६ हजार ६ सय १६ पुगेको छ । देशभर हाल २ सय ९८ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसमध्ये २ सय ४८ जना आईसीयू र ५० जना भेन्टिलेटरमा रहेका छन् ।
प्रदेश १ मा १७ आईसीयू र एक भेन्टिलेटरमा, प्रदेश २ मा सात आईसीयू र चार जना भेन्टिलेटरमा, बाग्मती प्रदेशमा ९७ आईसीयू र २९ भेन्टिलेटरमा, गण्डकीमा ७८ आईसीयू र एघार भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४१ आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।
यस्तै कर्णाली प्रदेशमा ६ जना आईसीयू र २ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २ आईसीयूमा छन् । देशभर ४ हजार १ सय १९ कोरोना संक्रमित होम आइसोलेसनमा छन् । सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १५ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बाँकी ३ हजार ३ सय ९६ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् ।
FACEBOOK COMMENTS