काठमाण्डौँ – ‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ ।
बेलुन प्रालि नेपाल, काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्न मिल्ने भएको हो ।
उडान शनिबार बिहानबाट शुरु हुने प्रालिका सञ्चालक सदस्य प्रवीण महर्जनले जानकारी दिए ।
पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि केन्द्र बनाउने उद्देश्यसहित उडान शुरु गर्न लागिएको उनले बताए ।
बेलुनले पर्यटकीय नगरी पोखराको धम्पुसबाट उडान गरी मार्दी खोलाको तीरमा अवतरण गर्नेछ ।
यस व्यवसायबाट २५ जनाले रोजगारी पाउने बेलुन प्रालि नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उडानका लागि प्रालिले स्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग बेलुन खरीद गरिसकेको छ ।
खेलका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ भने उडान सुरक्षित बनाउन भारतबाट तालीम प्राप्त बेलुन पाइटल ल्याइएको छ ।
प्रालिले नेपाली पर्यटकलाई प्रतिव्यक्ति रु ११ हजार तथा विदेशी पर्यटकका लागि प्रतिव्यक्ति १६० अमेरिकी डलर शुल्क लिई एक पटकमा आठ पर्यटकलाई उडान गर्नेछ ।
FACEBOOK COMMENTS