काठमाण्डौँ — बैङ्किङ ठगीका घटना मौलाउँदो क्रममा रहेको केन्द्रीय अनुसन्धान ब्युरोको तथ्याङ्कले देखाएको छ ।
चालु आर्थिक वर्षको चार महिनामा सीआईबीले बैङ्किङ कसुरअन्तर्गत सात जनालाई पक्राउ गरेर उच्च अदालत पाटनलाई जिम्मा लगाइसकेको छ ।
सिटिजन्स इन्टरनेसनल बैङ्क लिमिटेडलाई १ करोड २८ लाख हानी पुर्याउने पाँच जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत भदौमा पक्रेको थियो ।
बैङ्कको न्युरोड शाखाका कर्मचारी र सुन ऋणीको मिलेमतोमा धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुनसमेत राखेर विभिन्न समयमा ऋण प्रवाह गरेको भन्दै ती सबै व्यक्तिलाई सीआईबीले पक्रिएको हो ।
यता, सनराइज बैङ्कको पीओएस मेसिन दुरुपयोग गर्नेलाई पनि प्रहरीले पक्रियो ।
आयात निर्यातको काम गर्ने भन्दै पीओएस मेसिन लिएर २२ लाख ७७ हजार ४ सय ५२ रुपैयाँ ठगी गर्ने तारकेश्वरका प्रदीप न्यौपानेलाई प्रहरीले पक्रेको थियो ।
सीआईबीले अनुसन्धान गरेर मुद्दा अघि बढाएका बैङ्किङ कसुरका घटनामा पछिल्लो आठ वर्षमा १ सय ९० जना पक्राउ परिसकेका छन् ।
हालसम्म २१ अर्ब ३७ करोड ४१ लाख ९ सय ७६ रुपैयाँ बिगो मागदाबी गर्दै उनीहरुमाथि मुद्दा चलाइएको हो ।
FACEBOOK COMMENTS