काठमाडौं, भदौ ३ – मोटरसाइकलमा गस्ती गरिरहेको बेला बोलेरो जीपको ठक्करबाट पोखरामा दुई जना प्रहरीको बुधबार मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा प्रहरी मोटरसाइकल चालक पाल्पाको रिब्दीकोट गाउँपालिका–८ घर भई दंगा नियन्त्रण प्रहरी गण तनहुँ गुल्म नम्बर २ मा दरबन्दी भएकोमा हाल वडा प्रहरी कार्यालय बैदाममा कार्यरत २० वर्षीय जवान चन्द्रबहादुर बगाले छन् ।
यसैगरी मोटरसाइकलको पछाडि बस्ने हवल्दार बर्दीया मैनापुर–२ हाल बर्दियाकै बढैयाताल–६ बस्ने ३४ वर्षका डम्बरबहादुर थारु रहेका छन । उनी दंगा नियन्त्रण प्रहरी गण गुल्म नम्बर १ तनहुँ दरबन्दी भइ वडा कार्यालयमा कार्यरत थिए ।
राति अन्दाजी १ बजेतिर पोखरा–५ मालेपाटनस्थित विश्वास पेट्रोल पम्प नजिक बागलुङ बसपार्कबाट जिरो किमीतफर्फ ग१ब ३६९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको ग२च २६२६ नम्बरको जीपले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइतेमध्ये बगालेको राति नै गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो भने थारुको बुधबार दिउँसो मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले बताए ।
‘दुवैजनाको आफन्तजन पोखरा आउँदैहुनुहुन्छ,’ उनले भने, ‘त्यसपछि पोष्टमार्टमलगायत अन्य कानुनी प्रक्रिया अघि बढ्छ ।’ बगालेको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको र थारुको लैजाने तयारी भइरहेको उनले बताए ।
ठक्कर दिने जीपका चालक धादिङको धुनीवेशी गाउँपालिका–५ का विशाल केसीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको हमालको भनाइ छ ।
FACEBOOK COMMENTS