काठमाडौं, चैत ६- कोरोना भाइरसको संभावित संक्रमणको जोखिमलाई मध्येनजर गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कार्यालयलाई ‘स्क्रिन एक्जिविसन रुम’ बन्द गर्न निर्देशन दिएको छ ।
कोरोना भाईरस संक्रमण फैलिनबाट रोक्नको लागि ब्रोकर कार्यालयमा कारोबारका लागि लगानीकर्ताको भिडभाड हुने भएकोले यस्तो निर्देशन दिएको हो ।
बोर्डले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमणतर्फ सचेतता अपनाउन कार्यालयमा एक पटकमा ५ जनाभन्दा बढी संख्यामा भीड नगर्न, कार्यालयमा कर्मचारी र लगानीकर्ता प्रवेश गर्दा हात सफा गर्ने, स्यानिटाइजर र मास्क प्रयोग गर्न आग्रह गरेको छ ।
नेपाल धितोपत्र बोर्ड र सरोकारवाला निकायबीचको छलफलपछि न्यूनतम एक साताको लागि कारोबार रोक्ने तयारी समेत थालेको छ ।
नेप्से र बोर्डले अधिकतम एक साताको लागि मात्रै कारोबार गर्न पाउँछ। एक साताभन्दा बढीको लागि कारोबार बन्द गर्नु परे सरकारको सहमति लिनुपर्ने व्यवस्था छ। बोर्डले एक साताको लागि कारोबार बन्द गर्न सहमति जनाए पनि आधिकारिक निर्णय भने आउन बाँकी छ।
FACEBOOK COMMENTS