असार १४ – सिन्धुलीमा भत्काउनु पर्ने नालामा फेरि लगानी गरेर पैसा सकेको भन्दै विरोध सुरु भएको छ । कमलामाई नगरपालिका सिन्धुलीले वडा नं। ६ को गैरीबजारमा सडक विस्तार गर्दा भत्काउनु पर्ने नाला उल्टै मर्मतका नाममा धमाधम लाखौं रुपैयाँ खर्च गर्न थालेपछि स्थानीयले विरोध गरेका हुन् ।
असारे विकासका नाममा स्थानीय सरकारले कामै नगरी रकम सक्ने गरेको चर्चा चलिरहेका बेला नगरका मेयर खड्गबहादुर खत्रीले पनि अनावश्यक ठाउँमा पैसा खर्च गरेर पदको दुरुपयोग गरेको स्थानीय तथा नेपाली कांग्रेसका नेता दिपक मिश्र बताउँछन् । नाला निर्माण गरिएको स्थानमा यसअघि नगरले नै सडक विस्तार गर्ने भन्दै बागमति प्रदेश सभा सदस्य विनोद खड्कासहित आधादर्जन निजी घरहरु भत्काएको थियो । सडक वितर गर्दा यो नाला बीच सडकमा पर्दछ ।
‘सार्वजनिक जग्गा मिचिएको भन्दै स्थानीयलाई घर भत्काउन लगाएको ६ महिना हुँदासम्म सडक विस्तारमा कुनै चासो नदिएको नगरले नयाँ नाला निर्माण गर्नुको साटो मध्य असारमा भत्काउनु पर्ने नालामा लगानी गरेर पैसाको दुरुपयोग गरेको पाइयो,’ मिश्रले भने । हेर्दा सानो काम र थोरै पैसा भए पनि जनताबाट कर उठाइएको पैसा कतिसम्म दुरुपयोग हुन्छ भन्ने एउटा दृष्टान्तको यस्ता घटनाबाट स्पष्ट हुने उनको दावी छ ।
मर्मत गरिएको पहिलाको पुरानै नाला हो । तर, भत्काउनै पर्ने नालामा अस्थायी मर्मतका नाममा रर्ड बिच्छाएर पक्का ढलान र नालामा प्लाष्टर गर्ने कार्य पैसा सक्ने मेलो मात्रै भएको भन्दै त्यस्तो कार्य रोक्नुपर्ने मिश्रको माग छ । उता नगरपालिकाका मेयर खड्गबहादुर खत्री भने उक्त नाला भत्काएर बटो विस्तार गर्दा नयाँ बनाउने योजना भएको भए पनि तत्काल वर्षातको लागि मर्मत गरिएको बताउँछन् । ‘बाटो विस्तारका लागि ५० लाख बजेटको व्यवस्थापन गर्दै छौं । अहिलेलाई सामान्य मर्मत गरेका हौं,’ उनले भने । नयाँ नबनाउन्जेललाई मात्र नाला मर्मत गरिएको उनको भनाइ छ ।
ठेक्का र उपभोक्ता समितिमार्फत काम गर्न ढिला हुने भएपछि नगरले अमानतमार्फत सिधैं काम लगाएको नगरका सव इन्जिनियर टंकध्वज कार्कीको भनाइ छ । तर कामको कुनै स्टमेट भने छैन। ‘निर्माणमा चाहिने रर्ड, सिमेन्ट, गिट्टी, बालुवा नगरले व्यवस्थापन गरेको छ । मिस्त्रीले दैनिक ११ सय र लेभरले ८ सय रुपैयाँ पाउँछ । काम सकिएपछि हिसाव किताब गरेर खर्चको स्टमेट बनाउँछौं,’ उनले भने ।
नगरले अत्यन्त कठिन परिस्थितिबाहेक अमानतमा काम लगाउन पाँउदैनन् । तर, यो भत्काउनु पर्ने नालामा विना स्टमेट लाखौं रुपैयाँ लगानी गर्नु लज्जाको विषय भएको बागमति प्रदेशका संसद तथा नेकपा सिन्धुलीका सचिव प्रदिप कटवाल बताउँछन् । ‘मर्मत गर्ने पैसालाई यस वर्ष विस्तार गर्ने सडकको भित्तामा नयाँ पक्की नाला बनाइ दिएको भए दीर्घकालीन हुने थियो । तर, भत्काउनु पर्ने संरचनामा पुनः खर्च गर्नु राम्रो हैन । यसले आलोचना बढाउँछ,’ कटवालले भने ।
उता सडक विस्तारका नाममा वर्षौंदेखि बसोबास गर्दै आएका घरहरु भत्काउन लगाए पनि निर्माणका काम भने नगरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
FACEBOOK COMMENTS