काठमाण्डौँ – केरुङ–काठमाडौं रेलमार्गको विषयमा छलफल गर्न नेपाली टोली फेरी चीन जाने भएको छ ।
आगामी भदौ पहिलो साता रेल विभागका महानिर्देशक अनन्त आचार्यसहितको टोली चीन जान लागेको विभागका सूचना अधिकारी प्रकाशभक्त उपाध्यायले बताए ।
चीनमा हुने छलफलमा केरुङ–काठमाडौं रेल मार्गको मोडालिटी र सो मार्गको लागत कति लाग्ने भन्ने विषयमा टुंगो लगाइने विभागले जनाएको छ ।
केरुङदेखि काठमाडौंसम्मको रेलमार्गको लम्बाइ करिब ७२ किमी लामो हुनेछ ।
गत जेठमा चीन सरकारको प्राविधिक टोली केरुङ–काठमाडौं रेल मार्गको सम्भाव्यता अध्ययन गरी फर्किसकेको छ ।
चिनियाँ प्राविधिक टोलीले काठमाडौंदेखि नुवाकोटको त्रिशूली हुँदै रसुवाको रसुवागढी (टिमुरे) केरुङसम्मको अध्ययन सम्भाव्यता पूरा गरेको थियो ।
यो प्राविधिक टोलीले पूर्वसम्भाव्यता अध्ययनबाट काठमाडौंबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखांकनको अवस्थासहितको प्रतिवेदन तयार पारेको थियोे ।
त्यही प्रतिवेदनमाथि छलफल गर्न नेपाली टोली चीन जान लागेको विभागले जनाएको छ ।
– राजधानी
FACEBOOK COMMENTS