श्रावण ३२ – भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा. श्रीराम तिवारीसहित सो अस्पतालका तीनजना चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीका अनुसार तिवारीसहित स्त्री तथा प्रसूति विभागका प्रमुख डा।सुनिलमणि पोखरेल र आकस्मिक कक्षका अन्य एकजना चिकित्सकमा पनि संक्रमण भेटिएको छ ।
भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण भएर शनिबार मध्यराति नतिजा आएका ४४६ नमुनामध्ये कुल २८ जनामा संक्रमण भेटिएको थियो । अस्पतालका चिकित्सकहरुमा पनि शनिबार नै संक्रमण पुष्टी भएको हो । यसअघि बुधबार मात्रै पुर्वी चितवन रत्ननगरको सरकारी अस्पताल बकुल्लहर अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा.विश्वबन्धु बगालेमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
चितवनमा साउन २१ गतेयता संक्रमण तीव्र भएको छ । भरतपुर महानरपालिका क्षेत्रका बैंक, अस्पताल र प्रहरी युनिटहरुमा पनि संक्रमितहरु भेटिएका छन् । संक्रमण रोक्न भन्दै महानगरपालिकाभित्र हिजो शनिबारदेखि भदौ ५ गतेसम्म निषेधाज्ञा लगाइएको छ । भरतपुर अस्पतालको सेवालाई व्यवस्थित गर्नका लागि आजै आकस्मिक बैठक बसेर निर्णय र योजना ल्याउने अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए ।
FACEBOOK COMMENTS