काठमाडौं, मंसिर ४- यातायात व्यवस्था विभागले निजी प्रयोजनको लागि दर्ता भएका सवारीलाई भाडा लिई यात्रु ओसारपसार गर्न रोक लगाउने भएको छ।
विभागले विज्ञप्ति जारी गर्दै ‘टूटल’ र ‘पठाओ’ लगायतका सवारी साधनले निजी सवारीलाई पनि भाडा लिएर यात्रु ओसारपसार गर्नु कानुनको उल्लंघन भएको जनाएको छ ।
यसअघि पनि र्दुईपांग्रे सवारी प्रयोगकर्ता र उपभोक्ताबीच मध्यस्थता गराई भाडामा यात्रु बोक्दै आएको टुटल र पठाओले गैरकानूनी काम गरेको भन्दै विवाद आएको थियो । एउटा प्रयोजनका लागि दर्ता भएको सवारी साधन अर्को प्रयोजनमा प्रयोग नगर्न विभागले सचेत गराएको छ ।
विभागले यातायात व्यवस्था ऐनको दफा ८ (१) मा ‘निजी सवारी सार्वजनिक यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन’ र दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने व्यवस्था अनुसार निजी सवारीसाधन सार्वजानिक प्रयोजनको लागि प्रयोग गर्न नपाइने बताएको हो। सोही ऐनमा टेकेर विभागले निजी सवारीसाधनलाई यात्रु चढाएर भाडा असुल्ने कार्य नगर्न निर्देशन समेत दिएको छ ।
यसअघि पनि विभागले कारबाही थालेपछि प्रधानमन्त्री ओलीले नयाँ प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै कारबाही रोक्न र निजी सवारीलाई भाडामा यात्रु बोक्न निर्देशन दिएका थिए ।
FACEBOOK COMMENTS