काठमाडौं, २१ मंसिर- भारतमा कोरोना भाइरसको संक्रमण (कोभिड-१९) पोजेटिभ हुनेको संख्या ९६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म भारतमा ३६ हजार बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९६ लाख ४४ हजार नाघेको हो ।
वल्डोमिटरका अनुसार २४ घण्टामा भारतमा ४ सय ८० जना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा मात्रै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४० हजार नाघेको छ ।
यस्तै भारतमा कोरोना जित्नेको दर विश्वमै धेरै छ । भारतमा मात्रै अहिलेसम्म झण्डै ९१ लाख संक्रमित निको भएका छन् । त्यहाँ ९६ लाखमा कोरोना संक्रमण हुँदा ९० लाख ९९ हजारले कोरोना जितेका छन् ।
अहिले भारतमा ४ लाख ४ हजार सक्रिय संक्रमित रहेकामा ८ हजार ९ सयको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ । अहिलेसम्म विश्वभर ६ करोड ६ लाखमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ४ करोड ६२ लाख निको भएका छन् भने १५ लाख ३३ हजारको मृत्यु भएको छ ।
संक्रमित धेरै भएको देशको सूचीमा भारत दोस्रो स्थानमा रहेपनि संक्रमण जित्ने धेरै भएका देशको सूचीमा शीर्ष स्थानमा छ । भारतअघि अमेरिकामा मात्रै संक्रमितको संख्या १ करोड ४९ लाख नाघेको छ ।
यस्तै भारतपछि निको हुने दर अमेरिकामा नै धेरै छ । अमेरिकामा अहिलेसम्म ८७ लाख ८३ हजार कोरोना संक्रमित निको भएका छन् । यसैगरी कोरोनाले मृत्यु हुने दर अमेरिकामा सबैभन्दा उच्च छ । अमेरिकामा मात्रै अहिलेसम्म २ लाख ८७ हजारले कोरोना कै कारण ज्यान गुमाएका छन् ।
FACEBOOK COMMENTS