काठमाडौं, भदौ १६ – भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ६५ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण ६५ हजार २८८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ८१९ जनाको मृत्यु भएको हो ।
त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ३६ लाख ९१ हजार १६७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ६९ हजार ९२१ नयाँ संक्रमित थपिएका हुन् । यसअघि लगातार पाँच दिन भारतमा कोरोना भाइरसका ७५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिँदै आएका थिए ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका २८ लाख ३९ हजार ८८३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । अहिले भारतमा सात लाख ८५ हजार ९९६ संक्रमित निको हुन बाँकी छन् ।
FACEBOOK COMMENTS