काठमाडौं, चैत १२ – भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। बुधवारमात्रै करिब ४७ हजारमा भाइरसको संक्रमण देखिएको थियो। यसबीच भारतमा कोभिड १९ को ‘डबल म्यूटेन्ट भेरियन्ट’ भेटिएको छ। बीबीसी हिन्दीका अनुसार १० हजार ७८७ नमूनाहरुको परीक्षण गर्दा ७७१ जनामा नयाँ भेरियन्ट भेटिएको हो। ७३६ वटा बेलायतको, ३४ वटा दक्षिण अफ्रिकाको र एउटा भने ब्राजिलको भेरियन्ट भेटिएको हो।
भारतको नेशनल सेन्टर अफ डिजिज कन्ट्रोलका निर्देशक सुजित कुमारका अनुसार हाल भारतमा संक्रमण उच्च रहेको क्षेत्रमा अलग अलग किसिमको म्यूटेशन प्रोफाइल भेटिएको छ। १५ देखि २० प्रतिशत नमूनामा म्यूटेशन देखिएको छ जुन पहिला भेटिएका भेरियन्टभन्दा फरक छ।
यो नयाँ भेरियन्टबारे थप अध्ययन भइरहेको छ। यसअघिको भेरियन्टले अवस्था चिन्ताजनक बनाउन सक्ने बताइएको थियो। नयाँ भेरियन्टले रोग प्रतिरोधात्मक क्षमतामा असर नगरी संक्रमण फैलाउन सक्ने प्रारम्भिक रुपमा देखिएको छ। यो डबल भेरियन्ट पनि खतरानाक हुन सक्ने भन्दै थप सावधानी अपनाउन आवश्यक रहेको विज्ञहरुले सुझाव दिएका छन्।
FACEBOOK COMMENTS