काठमाडौँ, १८ चैत – छिमेकी भारतले कोभिड-१९ विरुद्धको भ्याक्सिन कोभिसिल्ड जतिसक्दो छिटो नेपाललाई उपलब्ध गराउने भएको छ । नेपालले भारतबाट खरिद गर्ने भनेको २० लाख डोज मध्ये १० लाख डोज आइनपुग्दा पहिलो डोज लगाएकाले दोस्रो डोजमा ढिलाइ हुने अवस्था आइसकेको छ ।
भारतमा नै कोभिड संक्रमण बढ्दै गएपछि भ्याक्सिन निर्यातमा ढिलाइ भइरहे पनि बीचमा भारतले नेपाललाई दोस्रो डोज लगाउन उपलब्ध गराउने बताएको छ । सेरम इन्स्टिट्युट अफ इन्डियाले उत्पादन गरिरहेको अस्ट्राजेनेका भ्याक्सिन (कोभिसिल्ड) को निर्यात केही समय रोकिने भनिए पनि भारतले सकभर सबै तिर भ्याक्सिन पठाएको बताएको छ ।
भारतले सबै तिर भ्याक्सिन पुर्याउन परेपछि केही ढिलाइ भएको अनौपचारिक रूपमा स्विकारे पनि छिमेकमा असर नपार्ने गरी उपलब्ध गराएको दाबी भारतीय अधिकारीहरूको छ । भारतीय दूतावासका प्रवक्ता नविन कुमारले नेपाललाई उपलब्ध गराउने खोप छिट्टै आउने बताए । भारतले दुई दिन अघिमात्र नेपाली सेनालाई एक लाख डोज खोप उपलब्ध गराएको छ ।
हुनत भारत स्वयंले शुक्रबारदेखि ४५ वर्षभन्दा माथिकालाई भ्याक्सिन दिने तयारी गरेको छ । भारतमा नै अत्याधिक भ्याक्सिन चाहिने भए पनि उसले नेपाललाई खोप समयमा नै उपलब्ध गराउने भएको हो । पहिलो चरणको खोप अभियान पूरा गरेको नेपाललाई दोस्रो डोजको खोपका लागि भारतकै खोप आवश्यक पर्छ ।
चीनबाट पनि आठ लाख डोज खोप आएको छ । त्यो खोप कोभिसिल्ड लगाएकालाई लगाउन मिल्दैन । पहिलो डोज लिएका नेपालीहरू दोस्रो डोजको पर्खाइमा छन् ।
हुन पनि अहिलेसम्म नेपालमा कोभिसिल्डबाहेक अन्य भ्याक्सिनको प्रयोग भएको छैन । हालसम्म भारतले अनुदानमा दिएको १० लाख डोज, नेपालले खरिद गर्ने भनेको २० लाख मध्ये १० लाख डोज र कोभ्याक्स सुविधामार्फत् प्राप्त गरेको ३ लाख ४८ हजार डोज भ्याक्सिन प्रयोग भएको छ ।
अब, भारतले पठाउने १० लाख डोज पुरानालाई दोस्रो सट लगाउने र चीनले पठाएको ८ लाख डोज नयाँलाई लगाउने गरी प्रक्रिया अघि बढाएको छ ।
FACEBOOK COMMENTS