काठमाडौं, कात्तिक २ – भारतले कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादनमा छिमेकी मुलुकहरूसँगको सहकार्यमा अगाडि बढाएको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको परीक्षण, अध्ययन र अनुसन्धानमा छिमेकी मुलुकहरूसँग सहकार्य गर्दै आएको बताए । मोदीले पछिल्ला दिनमा भ्याक्सिनको विकासमा उल्लेख्य प्रगति हुँदै गएको दाबी गरेका छन् ।
भारतमा कोरोनाभाइरसविरुद्धका दुइटा परीक्षण दोस्रो चरणमा छन् । एउटा खोप तेस्रो चरणमा रहेको छ । भारतीय प्रधानमन्त्री मोदीले उच्च सरकारी अधिकारीहरूसँग कोरोनाविरुद्धको भ्याक्सिनका विषयमा वार्ता गरेका थिए ।
भारत सरकारले जारी गरेको विज्ञप्ति अनुसार भारतका वैज्ञानिक र अनुसन्धानकताले अनुसन्धानको क्षमता अभिवृद्धिको लागि नेपाल, अफगानिस्तान, भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंका लगायतका मुलुकहरूसँग पनि सहकार्य गरिरहेको जनाइएको छ । भारत सरकारले बंगलादेश, म्यानमार, कतार, भुटान लगायतका मुलुकले उनीहरूको मुलुकमा भारतीय खोपको क्लिनिकल ट्रायल गरिदिन आग्रह गरेको जानकारी दिएको छ ।
भ्याक्सिनको विकास र अनुसन्धानका लागि नेपालसँग सहकार्य गरे पनि क्लिनिकल ट्रायलका लागि भारतले आग्रह गरेको छ कि छैन भन्ने विषयमा नेपाल सरकारले केही पनि बताएको छैन ।
मोदीले छिमेकमा मात्र केन्द्रित नभई बाहिरी संसारसँग पनि सहकार्य गर्न सरकारी अधिकारीलाई निर्देशन दिएका छन् ।
FACEBOOK COMMENTS