काठमाडौँ — आठ महिनाअघि भारतले आफ्नो नयाँ राजनीतिक तथा प्रशासनिक नक्सामा लिम्पियाधुरासम्मकै नेपाली भूभागलाई समेटेयता दुई मुलुकबीच संवादहीनता बढेको छ । तर दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले बिहीबार ट्वीटमार्फत एउटा सन्देश दिए, ‘बोल्नुपर्ने ठाउँमा बोल्ने हो, भन्नुपर्ने कुरा भन्ने हो । त्यो भएको छ । बोलिएको छ, भनिएको छ ।’
तर यो बोलिएको, भनिएको कुरा के हो, धेरैलाई थाहा छैन । परराष्ट्र मन्त्रालयलाई पनि ‘अन द रेकर्ड’ केही जानकारी छैन । राजदूतको ट्वीट–सन्देशपछि दिल्लीस्थित नियोगबाट पाएको सूचनामा ‘भारतसँग अरू पक्षमा संवादहीनताको स्थिति आइसकेको छैन तर अहिले उब्जिएको सीमावर्ती विवाद र नयाँ नक्सालाई लिएर भने आठ महिनायता कुनै संवाद भएको छैन ।’
उद्योग, वाणिज्य, आयात–निर्यातका सबै विषयमा संवाद जारी छ तर नयाँ राजनीतिक नक्साबारे ‘संवादहीन’ स्थिति छ । शनिबार अपराह्न कान्तिपुरसँगको कुराकानीमा राजदूत आचार्यले भने बाहिर टीकाटिप्पणीमा आएजस्तो ‘संवादहीन’ स्थिति नरहेको जिकिर गरे । ‘विविध पक्षमा कुराकानी भइरहेकै छ, यत्ति हो– अहिले उब्जिएको सीमावर्ती मामलामा औपचारिक ढंगमा कुराकानी हुन सकिरहेको छैन,’ उनले भने । कूटनीतिमा भएरगरेका सबै कामकुरा सार्वजनिक सञ्जालमा ल्याएर बहस गर्नुको अर्थ नरहेको उनको भनाइ छ । जस्तो, प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंस्थित चिनियाँ राजदूत हाउ यान्छीका बारेमा भ्रामक समाचार दिने जीन्युजका सम्पादक सुधीर चौधरीले यस प्रकरणमा गल्ती स्विकार्नुमा पनि दिल्ली दूतावासकै भूमिका थियो । राजदूत आचार्यले चौधरीसँग फोनमा कुराकानी गरेपछि उनले त्यो ‘अनर्थ’ सच्याउने र अब यस्तो घटना नदोहोरिने प्रतिबद्धता जनाएका थिए ।
कूटनीतिज्ञ डा।भेखबहादुर थापा भने ‘भारतसँग इतिहासमै यो तहको संवादहीन स्थिति’ नरहेको दाबी गर्छन् । ‘कूटनीतिक तहमा दिल्लीस्थित राजदूतले भन्ने कुरा भनेको छु भन्नुभएको रहेछ तर हामीले भनेका कुरालाई भारतले के–कसरी सम्बोधन गरेको छ भन्नेबारेमा हामी अनभिज्ञ छौं,’ उनले भने, ‘भारतसँग सम्बन्ध र संवाद विस्तार गर्न नेपालले कूटनीतिक पहल गर्दै आएको हो तर यसको जवाफमा ‘मौनता’ मात्रै आएको छ । यसरी हाम्रो सम्बन्धको आधारलाई अप्ठ्यारोमा पुर्याएको भारतले हो, यो निकै आपत्तिजनक कुरा हो ।’
यो समस्या समाधान र संवादको बाटो खुलाउन दुवै देशको पहलकदमी जरुरी रहेको भन्दै डा।थापाले भने, ‘कुनै सूचना र संवादबिनै सुरुमा नक्सा निकालेको र अतिक्रमणको संकेत दिएको भारतले हो, हामीले हाम्रो हक कायम गर्नैका लागि पछि मात्रै नक्सा निकालेका हौं । एकातर्फ द्विदेशीय घनिष्ठ सम्बन्धबारे चर्चा गर्ने, अर्कातर्फ नाकाबन्दी लगाउने अथवा संवादहीन बस्ने अवस्था ठीक होइन ।’
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार भारतसँग बढेको संवादहीन स्थितिमा गम्भीर समीक्षा गर्ने बेला आइसकेको भनेर आन्तरिक बैठकमा पनि छलफल भइरहेकै छ । ‘राजनीतिक नेताहरूले बोल्नका लागि बोल्नेभन्दा पनि शान्त कूटनीतिको उपाय अपनाउनुपर्छ भनेर हामीले परराष्ट्रमन्त्रीलाई सुझाएका छौं, कुनै थिंक–ट्यांक वा द्विदेशीय सम्बन्धको व्यक्तिगत तहबाट ‘ट्र्याक–टु’ कूटनीतिक उपाय अवलम्बन गर्नुपर्छ । दिल्ली नियोगको सुस्ततामा पुनर्मूल्यांकन हुनुपर्छ, ‘ब्याकडुवर नेगोसिएसन’ का लागि पहल हुनुपर्छ भनेका छौं,’ ती अधिकारीले भने ।
चीनका लागि पूर्वराजदूत डा।महेश मास्केको बुझाइमा ‘नेपालको राजनीतिक परिदृश्यमा जुन किचलो देखापरेको छ, त्यसको समाधान नभएसम्म कूटनीतिक पहल सार्थक हुने देखिँदैन ।’ सुरुमा आफ्नै घरलाई व्यवस्थित ९हाउस इन अर्डर० राख्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘त्यसपछि आफ्नो खुट्टामा आफैं उभिने सबै प्रकारका आर्थिक र सामाजिक प्रयत्नको ऐक्यबद्धताले मात्रै नेपालको कूटनीतिक पहललाई सफल बनाउने सामर्थ्य राख्छ ।’
‘यसरी हट्न सक्छ संवादहीन स्थिति’
कूटनीतिमा संवादहीनताको स्थिति आउन नदिन र औपचारिक संवादका लागि आवश्यक समझदारी खोज्न–बढाउनमा राज्यले धेरैतिर जुगाड गरिराख्नुपर्ने हुन्छ । विभिन्न कूटनीतिक, अर्धकूटनीतिक र अनौपचारिक च्यानलहरू जीवित हुनुपर्छ । ती त्यस्ता च्यानलहरू हुन्, जसमार्फत कूटनीतिक महत्त्वको अन्तर्क्रिया सम्भव भइरहेको हुन्छ । औपचारिक कूटनीतिलाई ट्र्याक–वान डिप्लोमेसीमा राखिन्छ भने यस्ता अरूलाई चाहिँ आयोजक र सहभागीहरूको प्रकृतिलाई हेरेर ट्र्याक–वान–एन्ड हाफ, टू, थ्री आदि भनिन्छ ।
यी ट्र्याक–च्यानलहरू चाहिएको वा आपत् परेका बेला टुप्लुक्क आउने अथवा बन्ने होइनन्, शान्त समयमा मिहिन तयारी र मिहिनेतपूर्वक गरेको लगानीबाट मात्रै सम्भव हुन्छ । हामीले सधैं अरूले खडा गरेको संयन्त्रहरूमा उत्साहपूर्वक भाग लियौं तर आफ्ना च्यानल खडा गरेर सक्षम र विश्वसनीय संयन्त्र बनाउन यो वा त्यो बहानामा अद्यापि जाँगर देखाएका छैनौं ।
अर्कातिर सरकारी मात्रै होइन, गैरसरकारी क्षेत्रका नागरिक समाज, एकेडेमिया, मिडिया, व्यवसायी र जनस्तरमा समेत दूरदृष्टिका साथ सुपरिचय, सद्भाव, समझदारी निर्माण गर्दै आवश्यक परेका बेला तत्काल सही सूचना प्रवाह गर्न सक्नुपर्छ । अझ सोझै कुराकानी गर्न सक्ने गरी सम्पर्क बनाइराख्न र क्षमता प्रवर्द्धन गर्नका लागि समय र स्रोतसाधन लगानी गरिराखेमा कूटनीतिक नियोगहरूले यस्ता स्थितिमा अहम् भूमिका निर्वाह गर्न सक्छन् । तर हामीले त्यसरी क्षमता वृद्धि र ‘पब्लिक डिप्लोमेसी’ मा हुने लगानीलाई ‘खराब कर्जा’ ठानेर त्यो पक्ष पनि कमजोरै छाडेका छौं ।
दुवै मुलुकका साझा मित्रहरूको हामीप्रतिको सद्भावले पनि अनौपचारिक रूपमा वातावरण बनाउन मद्दत गर्न सक्छ । त्यसका लागि मित्रराष्ट्रहरूलाई स्थिति अध्यावधिक गराइराखिएको हुनुपर्छ । तर त्यसतर्फ के भइरहेको छ भन्ने थाहा भएन ।
अब यी विभिन्न पक्षमा हामी जहाँ छौं, त्यहींबाट ती सबै सिला खोजेर काम सुरु गर्नुपर्छ । विशेष मिहिनेत र थप केही समय लाग्न सक्छ तर त्यो सम्भव छ । जे भए पनि यसबाट चेतेर अबचाहिँ खासगरी पब्लिक डिप्लोमेसी, विभिन्न संस्थागत ट्र्याकहरू, गहिरो र फराकिलो अन्तर्राष्ट्रिय सद्भाव आर्जन तथा क्षमता वृद्धिमा लगानी गर्न हाम्रा नेताहरूमा चेत खुल्नुपर्छ । नत्र पछि अझ अप्ठ्यारो परिस्थिति आउँदा पनि हामी हराइरहेकै हुनेछौं । यस्तो हुनु परिपक्व राष्ट्रको लक्षण हुन सक्दैन ।
यी सबैको परिपूरकका रूपमा वा छुट्टै पनि संवादहीनता तोड्ने अझ अर्को उपाय भनेको ‘पर्सनल डिप्लोमेसी’ हो । दुवैतर्फ राजनीतिक, कूटनीतिक, प्राज्ञिक, व्यावसायिक वा अन्य वृत्तमा सम्मानित र विश्वसनीयता प्राप्त व्यक्तित्वहरूका आपसी सम्पर्क उपयोगी हुन सक्छन् । संवादहीनताले दुवैतर्फ हित गर्दैन । नेपाल–भारत सम्बन्ध हाल जीवित पुस्ताले जन्माएको–हुर्काएको होइन । त्यसैले उनीहरूलाई भत्काउने हक पनि छैन । हामी सदाकालका असल छिमेकी बन्नुपर्छ र आइपरेका समस्या वार्ताबाटै टुंग्याउनुपर्छ भनेर दुवैतर्फलाई प्रोत्साहित गर्न सक्नेहरूको पहिचान र ससम्मान सहभागिता खोजेमा त्यो पनि सम्भव होला । वातावरण बनाउनमा उपयोगी पनि होला ।
समझदारीको निश्चित बिन्दुमा पुगेपछि त्यस्ता व्यक्तिलाई ‘विशेष दूत’ बनाउने परिबन्द पनि मिल्न सक्छ । अथवा, सोझै कूटनीतिक वार्ताको ढोका खुल्न पनि सक्छ तर सार्वजनिक रूपमा अहिले छरपस्ट भएको तिक्तताको परिणाम हेर्दा संवादका लागि वातावरण बनाउन समय लाग्ने नै देखिन्छ ।
अहिले भारतमा बलजफ्ती र मनगढन्ते रूपमा जनस्तरमा, खासगरी श्रव्यदृश्य सञ्चार र सामाजिक सञ्जालमा नेपाल र नेपालीविरुद्ध नकारात्मक रूपमा ‘चाइना कार्ड’ प्रयोग भएको देखिनु विश्व शान्तिसुरक्षामा विशेष भूमिका चाहेको भारतकै लागिसमेत पछिसम्म लज्जास्पद हुनेछ । त्यसरी एकअर्काविरुद्ध गलत रूपमा तेस्रो कार्ड बीचमा ल्याउने तहमा ओर्लेर न त हाम्रो द्विपक्षीय जनस्तरीय असल सम्बन्ध तथा इतिहासको सम्मान हुन सक्छ न त त्यसको सुरक्षित भविष्यकै सम्भावना रहन्छ । यसबाट जतिसक्दो चाँडो बाहिर निस्कन सक्नु दुवै पक्षका नेताहरूको राजनेतृत्व क्षमता (स्टेट्सम्यानसिप) को पहिलो परीक्षण हुने देखिन्छ ।
-देवेन्द्र भट्टराई (कान्तिपुर दैनिक)
FACEBOOK COMMENTS