काठमाडौं, साउन ३२ – कोरोना भाइरसको संक्तमण रोक्न भारतसँग सीमा जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारि गरी उक्त नाबाट पनि आवतजावत संचालनमा पूर्ण रोक लगाइएको जनाएको छ ।
भारतबाट नेपाल र नेपालबाट भारत ओहोरदोहोर गर्नेको संख्या बढेसँगै कोरोना संक्रमितको संख्या पनि ह्वातै बढ्न थालेपछि यस्तो निर्णय गरिएको बताइएको छ ।
सशस्त्र प्रहरी प्रदेश नम्बर–२ का प्रमुख डिआइजी कृष्णभक्त ब्रह्माचार्यले आवत जावतमा मात्र रोकथाम नगरि अवैध रुपमा हुने चोरी निकासी र तस्करी नियन्त्रणमा समेत कडाई गरिएको र दिनरात प्रहरीले सीमा क्षेत्रमा निगरानी गरिरहेको बताए ।
भारतसँग जोडिएको सप्तरीको ७२ किलोमिटर खुल्ला सीमाबाट लुकिछिपी प्रवेश नहोस् भनेर ५५ वटा पोष्ट स्थापना गरि सशस्त्र प्रहरीले नाका क्षेत्रमा निगरानी बढाएको उनको भनाई छ ।
जिल्ला प्रशासन कार्यालयबाट सूचना जारि भएसँगै नाका बन्द गरिनुका साथै थप सतर्कता बढाइएको छ । यसअघि जिल्लाको छिन्नमस्ता, डाक्नेश्वरी, बलान बिहुल र बोदेबसाईन लगायतका नाकाबाट समेत आवतजावत हुने गरेकोमा केही दिनअघिदेखि ती सबै नाका बन्द गरिएको छ ।
पछिल्लो सयम कुनौली नाकाबाट आवश्यक जाँच पश्चात् आवतजावत गर्ने व्यवस्था मिलाइएको थियो । तर, कुनौली नाकाबाट समेत ठूलो संख्यामा घर फर्किने क्रम बढेपछि कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
छिमेकी मुलुक भारत तथा नेपालका सीमावर्ती क्षेत्रमा कोरोनाको संक्रमण तिब्रगतिमा फैलिएकाले सरकारले यही साउन २६ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार नाका बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जयप्रसाद घिमिरेले जानकारी दिए ।
जिल्ला प्रवेश गर्ने भारतीय सीमासँग जोडिएका सबै नाका बन्द गरिएपछि भारतबाट घर फर्किनेहरु कोही सीमा क्षेत्रमा अलपत्र परेका छन् भने कोही प्रदेश–१ को बिराटनगर तथा कोही प्रदेश २ को सिरहा माडर नाकाबाट प्रवेश गरिरहेको बताइएको छ ।
भारतबाट घर फर्किनेहरुका लागि ती दुबै नाका सरकारले प्रयोग गर्न छुट दिएको छ ।
FACEBOOK COMMENTS