काठमाडौं, चैत ६– औषधि व्यवस्था विभागले भारतीय कम्पनी भारत बायोटेक इन्टरनेसनल लिमिटेडले उत्पान गरेको कोरोनाविरुद्धको खोपलाई नेपालमा प्रयोगको लागि अनुमति दिइएको छ ।
विभागले शुक्रबार उक्त कम्पनीले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको ‘कोभ्याक्सिन’ नामक खोपलाई नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो।
विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार सो खोपलाई भारतले पनि आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेको र अन्य देशहरुमा पनि प्रयोग भइसेको छ।
विभागले औषधि तथा खोप सम्बन्धी कार्यविधिको परिधिभित्र रहेर सो कम्पनीको खोपलाई आकस्मिक प्रयोगको लागि अनुमति दिएको केसीले जानकारी दिए।
उनका अनुसार सो खोप निजी क्षेत्रले खरिद गरेर नेपाल ल्याउने तयारी समेत गरिरहेका छन्।
‘हामीले केही समय अघि सूचना नै जारी गरिसकेका छौं। खोप ल्याउन सक्ने निजी क्षेत्रलाई पनि खोप खरिदका लागि खुला गर्ने भनेर,’ उनले भने, ‘यो खोप पनि अनुदानमा आउने नआउने विषय स्पष्ट भइसकेको छैन, तर निजी क्षेत्रले खरिद गरेर ल्याउनसक्छन्।’
यसअघि भारतकै सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड र चीनको सिनोफार्मले उत्पादन गरेको भ्याक्सिनले नेपालमा आकस्मिक प्रयोगको अनुमति पाएका थिए।
कोभ्याक्सिन नामको कोरोना विरुद्धको खोप पनि दुई मात्रामा लगाउनुपर्छ। यो भ्याक्सिनको पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो मात्रा लगाउनुपर्ने विभागको भनाइ छ।
यस्तै यो भ्याक्सिनलाई उत्पादन मितिले ६ महिनासम्म २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न सकिन्छ।
FACEBOOK COMMENTS