काठमाडौं– नेपाल राष्ट्र बैंकले भूकम्पपीडितको घरजग्गा लिलाम नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्थाले कर्जा लिएको दुई वर्षमै धमाधम घरजग्गा लिलाम गर्न थालेपछि केन्द्रीय बैंकले त्यसो नगर्न सोमबार निर्देशन दिएको हो।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै अर्को व्यवस्था नभएसम्म भूकम्प पीडितको घरजग्गा लिलाम नगर्न भनेको हो ।
हालसम्म एक अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले बताए ।
२०७२ वैशाखको विनाशकारी भूकम्पको कारण क्षति भएका घर पुनर्निर्माण गर्न काठमाडौं उपत्यकामा २५ लाख र अन्य क्षेत्रमा १५ लाख रुपैयाँसम्म कर्जा वार्षिक दुई प्रतिशत ब्याजमा पाउने व्यवस्था गरिएको थियो ।
– नागरीक
