भैरहवा,फागुन ११- भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा मागअनुसार विद्युत् आपूर्ति नहुँदा उद्योगी समस्यामा छन् । दर्ता भएका उद्योगीले समेत विद्युत् अभावकै कारण उद्योग स्थापनामा चासो देखाएका छैनन् । विद्युत् प्रसारण लाइन नबन्दा मागअनुसारको बिजुली नपाएपछि उद्योगी समस्यामा परेका हुन् । सेजमा ११ केभीएको लाइनबाट पाँच मेगावट विद्युत् आपूर्ति भइरहेको छ । पर्याप्त विद्युत् पाउन नसक्दा उत्पादनमा समस्या भएको सेजमा उद्योग सञ्चालन गर्नुभएका पञ्चकन्या उद्योगका प्रतिनिधि खडानन्द चौधरीले बताउनुभयो ।
सेजमा अहिले ३३ केभीएको विद्युत् प्रसारण लाइन आवश्यक पर्ने भएकाले हाल आपूर्ति भइरहेको विद्युत् पर्याप्त नभएको चौधरीले बताउनुभयो ।
भैरहवा सेजमा शक्ति मिनरल्स प्रालि, विस्तार ग्लोबल प्रालि, एलईडी लाइट उत्पादन उद्योग प्रालिले उत्पादन सुरु गरेका छन् । भैरहवामा जयबुद्व मेटल क्राफ्ट, पञ्चकन्या ग्रुप, यती प्लास्टिक प्रालि निर्माणाधीन छन् । सेजमा स्थापना भएका उद्योगले उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था छ ।
त्यसैअनुरूप भैरहवा सेजमा स्थापना भएका तीन उद्योगले डेढ करोड रुपियाँभन्दा बढीको निर्यात गरेका छन् तर विद्युत् अभावका कारण लक्ष्यअनुसार उत्पादन हुन नसकेको उद्योगीको भनाइ छ । उद्योगका लागि पूर्वाधार तयार गरे पनि विद्युत् पाएका छैनौँ, एस प्लास्टिक उद्योगका सञ्चालक सरोज कँडेलले भन्नुभयो । नेपाल विद्युत् प्राधिकरणका प्रदेश ५ कार्यालय प्रमुख नवराज सुवेदीले प्रसारण लाइन निर्माणका क्रममा वन र सडक विभागबाट समस्या हुँदा समयमा काम हुन नसकेको बताउनुभयो । अहिले फेरि नहरपुर क्षेत्रमा स्थानीय बासिन्दालाई उचालेर अवरोध गर्न खोजिएको छ, हामीले राजनीतिक दलका प्रतिनिधि राखेर सहमतिको प्रयास गरिरहेका छौँ, उहाँले भन्नुभयो । प्रसारण लाइन निर्माणको काम करिब ८० प्रतिशत सकिएकाले अब छिट्टै नै काम सम्पन्न हुनेमा आफूहरू आशावादी रहेको बताउनुभयो । प्रसारण लाइन र सेजमा सबस्टेसन बनेपछि १५ मेगावट विद्युत् दिन सकिने उहाँले बताउनुभयो ।
प्राधिकरणले योगीकुटी सबस्टेसनदेखि सेजसम्म छुट्टै ३३ केभी डबल सर्किट प्रसारण लाइनको निर्माण गरिरहेको छ । भरौलिया–धकधई खण्डमा प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गर्दै स्थानीयले अवरोध गरेको र यो अवरोध हटेपछि निर्माणले गति लिने सुवेदीले बताउनुभयो ।
सरकारले भैरहवा सेजमा १५ करोड रुपियाँ लगानी गरेको छ । छवटा कम्पनीले अहिलेसम्म करिब ५० करोड रुपियाँ लगानी गरेका छन् । सेज प्राधिकरणका प्रवक्ता उपसचिव सुन्दर थापाले मागका आधारमा बिजुलीको समस्या नभएको दाबी गर्नुभयो । उहाँले मर्मतसम्भार गर्न नसक्दा केही समस्या भने रहेको उहाँले स्वीकार गर्नुभयो । सेजको विनियमावली बनाउन, बत्तीको समस्या समधान गर्न, सबस्टेसन बनाउन टेन्डर लगाउनेलगायतका काम अब छिट्टै नै सुरु हुने उहाँले बताउनुभयो ।
सेजमा पर्याप्त कर्मचारी नहुँदा पनि दैनिक काम प्रभावित हुने गरेको उद्योगीको भनाइ छ । सेजमा ५८ जना कर्मचारीको दरबन्दी छ तर नौ जना कर्मचारी मात्रै कार्यरत छन् । ती कर्मचारी पनि सेजमा भेट्न मुस्किल हुने गरेको उद्योगी गुनासो गर्छन् । सेजले करिब साढे चार महिनादेखि कार्यकारी निर्देशक पाउन सकेको छैन । सेज सञ्चालन विनियमावली नबनेका कारण कर्मचारी भर्ना गर्न समस्या भएको सेज प्राधिकरणले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS