काठमाडौँ, माघ २१ – बन्द हड्ताल जस्ता राजनीतिक गतिविधि रोक्न र स्थीरता कायम गर्न निजी क्षेत्रले अपिल गरेको छ ।
कोभिड १९ महामारीका कारण संकटमा रहेको अर्थतन्त्रलाई राजनीतिक अस्थिरता र बन्द हड्ताल जस्ता गतिविधिले थप जोखिममा पार्ने देखिएको भन्दै निजी क्षेत्रले यस्तो अपिल गरेको हो ।
चालु आर्थिक बर्षको दोस्रो त्रैमासबाट विस्तारै लयमा फर्किन थालेको अर्थतन्त्रलाई पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले गम्भीर नकारात्मक असर पार्ने निश्चित छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त रुपमा विज्ञपित प्रकाशित गर्दै विश्वव्यापी महाव्याधिले आक्रान्त सर्वसाधारण र उद्यमी व्यवसायीलाई बन्द हडताल, चक्काजाम एवं आवागमनमा अवरोध हुने किसिमका भेला सम्मेलन लगायतका गतिविधिले पेशा व्यवसायमा अवरोध भई आयआर्जनमा प्रत्यक्ष प्रभाव परेर थप पीडा दिने बताएको छ ।
‘यस्तो बिषम परिस्थितिमा समस्याको शान्तिपूर्ण समाधान निकाल्ने विकल्प पन्छाई सर्वसाधारण र निजी क्षेत्रको काम गर्न पाउने लगायतका नैसर्गिक अधिकार कुण्ठित पार्न नहुने निजी क्षेत्रको ठहर छ ।’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘बन्द हडतालका कारण साना उद्यमी व्यवसायी र दैनिक ज्यालामा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढी असर पर्नेतर्पm राजनीतिक दलहरूको ध्यानाकर्षण गराउन चाहन्छौ । साथै नयाँ संविधान निर्माण पश्चात आर्थिक विकासलाई प्राथमिकतामा राखि बन्द, हडताल, चक्काजाम लगायतका गतिविधि नगर्ने सबै राजनीतिक दलहरूले गरेको प्रतिवद्धतालाई पनि हामी यहा स्मरण गराउन चाहान्छौ ।’

अहिलेको कठिन परिस्थिति, विगतका हाम्रा तीता अनुभव समेतलाई गम्भीररूपमा मनन गरी बन्द हड्ताल लगायतका कार्यक्रमको घोषणा गरिएको हो भने तत्काल फिर्ता लिई मुलुकलाई थप संकटमा नधकेल्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।