काठमाडौं- प्रणय दिवस अर्थात् भ्यालेन्टाइनस डे १४ फेब्रुअरीमा विश्वभर आपसमा प्रेमभावपूर्ण उपहार साटासाट गरेर मनाइने गरिन्छ । यस दिन प्रेमजोडीहरूले विभिन्न उपहार आदान–प्रदान गरी माया साटासाट गर्ने गर्छन् । कतिपयले यही दिनलाई रोजेर आफूलाई मनपरेको व्यक्तिसामु प्रेम प्रस्ताव पनि राख्ने गर्छन् ।साता दिनसम्म मनाइने यो यो प्रेम उत्सवका लागि प्रेमिल मनहरू प्रतीक्षा गरिबस्छन् ।
संसारभर भ्यालेन्टाइन डेको चर्चा भइरहँदा भ्यालेन्टाइन्स डे किन मनाउन थालियो, कहिलेबाट सुरु भयो, भ्यालेन्टाइन को हुन्, १४ फेब्रुअरीकै दिन यो किन मनाइन्छ, यसको इतिहास के हो भन्नेबारे धेरैलाई थाहा नहुन पनि सक्छ । यसका बारे केहि चर्चा गरौं ।
भ्यालेन्टाइन डे पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो९ अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।
यो पर्व वा दिवसमा गुलाफको फूल अफ्नो प्रेमी प्रेमिका लाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ। हिजोआज भ्यालेन्टाइन्स डे नजिकिएसँगै गिफ्ट र फूल पसलमा उपहार किन्नेको भीड लाग्ने गरेको छ । साथै त्यस्ता पसल पनि भ्यालेन्टाइन्स डेलाई लक्षित गरेर सजिन थालेका छन् । यही भ्यालेन्टाइन्स डेलाई लक्षित गरेर लाखौँ मूल्यबाराबरको गुलाफको आयात हुने गरेको छ ।
भ्यालेन्टाइन्से डेको दिन प्रेमीप्रेमिकाले माया साटासाट गर्न आफ्नो रोजाइअनुसारको गिफ्ट दिने चलन छ । प्रेमीप्रेमिकाले कस्ता उपहार आदानप्रदान गर्छन् र त्यो गर्नुको कारण के हो त जानौं ।


गुलाफ
भ्यालेन्टाइन्स डेको दिन सबैले आफ्नो प्रेमीप्रेमिका वा आफूलाई मनपर्ने व्यक्तिलाई रातो गुलाफको फूल दिने चलन छ । रातो गुलाफको फूलले सम्बन्धमा निखारता थप्ने विश्वास छ । साथीको हिसाबले दिनुपर्दा पहेँलो गुलाफको फूल दिइन्छ । रातो रङको गुलाफको फूल दिइएको व्यक्तिले सहर्ष स्वीकार गर्यो भने ऊ माया गास्न इच्छुक छ भन्ने बुझ्नुपर्छ ।

टेडी बियर
भ्यालेन्टाइन्स डेको दिन प्रेमीप्रेमिकाले एकआपसमा टेडी आदानप्रदान गर्ने गर्छन् । टेडी एकदमै कोमल हुने हुँदा आफ्नो सम्बन्धलाई कोमल र मजबुत बनाउनका लागि प्रेम जोडीले प्रेम प्रतीकका रूपमा टेडी बियर आदानप्रदान गर्ने गर्छन् ।

ब्रासलेट
ब्रासलेट भ्यालेन्टाइन्स डेका लागि उपयुक्त उपहार हो । विभिन्न धातुबाट तयार हुने ब्रासलेट आफ्नो क्षमताअनुसार खरिद गर्न सकिन्छ । प्रेमीप्रेमिकालाई ब्रासलेट दिँदा यसको आकार र डिजाइनमा पनि ध्यान दिनु त्यत्तिकै जरुरी रहन्छ । ब्रासलेट उपहार दिनाले प्रेमलाई जीवन्त एवं स्मरणीय राख्न मद्दत गर्छ ।
चकलेट
गुलाफ मात्र नभएर प्रेमीप्रेमिकाले चकलेट पनि उपहार स्वरूप आदानप्रदान गर्ने गर्छन् । यसरी चकलेट दिँदा माया बढ्ने र सम्बन्धमा मिठास थपिन्छ भन्ने विश्वास युवायुवतीमाझ रहँदै आएको छ ।
ग्याजेट्स
भ्यालेन्टाइन्स डेमा उपहारस्वरूप ग्याजेट पनि दिन सकिन्छ । ग्याजेट दिँदा प्रेमीप्रेमीकालाई केको आवश्यकता परेको छ त्यसको महसुस गरेर दिँदा राम्रो हुन्छ । जस्तै, मोबाइल, ल्यापटप, आइफोन, आइप्याड दिन सकिन्छ ।
फेसनेबल पहिरन
भ्यालेन्टाइन्स डेमा आफ्नो प्रेमीप्रेमिकालाई फेसनेबल पहिरन दिने चलन पनि छ । यसरी बजारमा आएका फेसनेबल पहिरन प्रेमीप्रेमिकालाई दिनु उत्तम मानिन्छ । यसरी फेसनेबल पहिरन दिँदा मनमा उत्साह एवं प्रेममा प्रगाढता ल्याउने विश्वास छ ।
पुस्तक
हिजोआज भ्यालेन्टाइन्स डेमा पुस्तक दिने चलन बढ्दै गएको छ । पुस्तक दिँदा प्रेमीप्रेमिकाको रुचि बुझ्न जरुरी छ । पुस्तक दिँदा अश्लील प्रकृतिका पुस्तक भने दिनुहुँदैन । यसले प्रेम सम्बन्धमा दरार ल्याउन सक्छ ।
यसैगरी मुटुको आकार भएको घडी, औँठी, मग, फोटोफ्रेम पनि भ्यालेन्टाइन्स डेका लागि उपयुक्त उपहार हुन सक्छ । यसरी आफ्नो रोजाइअनुसारको उपहार प्रेमीप्रेमिकाले एकआपसमा आदानप्रदान गर्दा प्रेमको गाँठो कसिँदै जान्छ ।