काठमाडौं,फागुन २- स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई हराएको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा घरेलु टोली रियलले भ्यालेन्सियामाथि २-० गोल अन्तरले जित निकालेको हो।
रियलको जितमा करिम बेञ्जेमा र टोनी क्रुसले गोल गरे। खेलको १२ औं मिनेटमै क्रुसको पासमा बेञ्जेमाले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। त्यस्तै ४२ औं मिनेटमा क्रुसले नै गोल गर्दा पहिलो हाफमा रियल दुई गोलले अघि रह्यो। दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसक्दा रियलले २-० ले खेल आफ्नो पक्षमा पार्यो।
त्यस्तै गएराति नै भएका अन्य खेलहरुमा रियल सोसिडाडले गेटाफेलाई १-० ले हराउँदा लेभान्टे ओसासुनासँग १-० गोलअन्तरले पराजित भयो। त्यस्तै रियले बेटिसले भिल्ला रियलमाथि १-० गोल अन्तरले जित निकाल्यो।
जितसँगै रियल मड्रिड अंकतालिकाको दोस्रो स्थानमा पुगेको छ। शीर्षस्थानमा २१ खेलबाट ५४ अंक जोडेको एट्लेटिको मड्रिड छ भने दोस्रो स्थानमा २२ खेलबाट ४९ अंक जोडेको रियल मड्रिड छ। त्यस्तै तेस्रो स्थानमा ४६ अंक जोडेको बार्सिलोना छ।
FACEBOOK COMMENTS