काठमाडौं,पुस ९ – सरकारले ‘भ्रमण वर्ष २०२०’ को उद्घाटन समारोहलाई भव्य बनाउने गरी सहभागिता जनाउन काठमाडौँ उपत्यकाका स्थानीय निकायलाई आग्रह गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले बुधबार काठमाडौं उपत्यकाका सबै पालिकाहरुसँग छलफलमा मन्त्री भट्टराईले हवाई मार्गबाट आउने पर्यटकहरुलई आकर्षित गर्ने पहिलो गन्तव्य उपत्यकाका भएकाले पनि नगरपालिकाहरुको ध्यान दिनुपर्ने बताए ।
त्यसका लागि नगरपालिकाहरुले ७ वटा विश्व सम्पदा सूचिमा परेका क्षेत्रलाई जोड्ने गरी साइकल लेन निर्माण गर्ने, सहरी सुन्दरता कायम गर्ने तथा राजधानीमा नाइट लाइफको अवधारणालाई विकास गर्नुपर्ने बताए ।
सरकारले पर्यटकीय क्षेत्रमा रात्रीकालिन जीवन चलाउने भनेर विगतमा पनि पटक पटक बताउँदै आएपनि काठमाडौंमा अहिलेसम्म पनि प्रभावरकारी ढंगले रात्री जीवन सञ्चालन हुन सकेका छैनन् । उपत्यकाका मुख्य सहरहरु ६-७ बजे नै सुनसान हुने अवस्था रहेको मन्त्री भट्टराईले बताए ।
‘राजधानी ६-७ बजे नै सुतिसक्छ, तर, भ्रमण वर्षमा नाइटलाइफ जिबन्त राखौ, मठमन्दिरलाइ लाइटिङ गरौ । राजधानीमा नाइट लाइफ नै छैन भन्दा पनि हुन्छ । यसरी पर्यटनको विकास हुँदैन । ‘भक्तपुरबाट यो प्रक्रिया शुरु भइसकेको छ’, मन्त्री भट्टराईले भने ।
मन्त्री भट्टराईले २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गर्दा २० लाख पर्यटक भित्र्याउने मात्र नभई पर्यटन क्षेत्रको विकास र नर्या पर्यटकीय गन्तव्यको पहिचान गर्नु रहेको बताए।
छलफलमा काठामाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विदेशी पर्यटकहरुलाई आकर्षित गर्न नेपालमा कार्यक्रमहरु गर्ने भन्दा पनि विदेशमा रहेका मुख्य मुख्य पर्यटकीय शहरहरुमा गई प्रचार प्रसार गर्नुपर्ने बताए ।
ललितपुर माहानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुरको पर्यटकीय सहरमा पर्यटकको बसाई लम्ब्याउन नगरपालिकाले ध्यान दिएको बताए । त्यसका लागि सहरको सुन्दरता निर्माण तथा ऐतिहासीक सम्पदाहरुको तस्बिर विभिन्न ठाउँमा राख्न लागेको जानकारी दिए ।
सरकारले भ्रमण वर्ष २०२० को उद्घाटन जनवरी १ का दिन भव्य समारोहबीच दशरथ रंगशालामा दिउसो ३ बजेदेखि गर्दै छ । त्यस्तै सबै प्रदेशका राजधानीमा समेत कार्यक्रम गरी भ्रमण वर्षको सुरुवात गर्न लागिएको छ ।
FACEBOOK COMMENTS