काठमाडौं, पुस १४ – सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक शुरुआत आगामी बुधबारदेखि गर्ने तयारी गरेको छ। यही पुस १६ गते काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुहुनेछ भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
रङ्गशालासँगै सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नुहुनेछ। त्यस्तै जनवरी ७ तारिख ९पुस २२ गते० विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने कार्यक्रम तय भएको छ। भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सरकारले ३१ मुलुकका पर्यटनमन्त्री एवं विशिष्ट व्यक्तिलाई आमन्त्रण गरेको छ।
तीमध्ये १० मुलुकका पर्यटनमन्त्री तथा अन्य केही मुलुकका विशिष्ट पाहुनाको सहभागिता निश्चित भइसकेको पर्यटन मन्त्रालयले जनाएको छ। उद्घाटन कार्यक्रममा मार्चपास तथा विविध सांस्कृतिक प्रस्तुति हुनेछन्। कार्यक्रममा सम्भव भएसम्म औपचारिक पोशाकमा सहभागी हुन आग्रह गरिएको छ। मार्चपास तथा या्लीमा राष्ट्रिय झण्डाका साथ सम्बन्धित संस्थाको झण्डा प्रयोग गर्न सकिनेछ।
तीन घण्टा सञ्चालन हुने उद्घाटन समारोह दिउँसो तीन बजे शुरु हुनेछ। भारत, चीन, बङ्गलादेश, युरोपलगायत मुलुकका गरी ४० भन्दा बढी विदेशी सञ्चारमाध्यमका सञ्चारकर्मीको सहभागिता उद्घाटनको दिन रहने छ। सरकारले भ्रमण वर्षको अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०१९ को १० महिनामा १० लाख विदेशी पर्यटक नेपाल घुम्न आएका छन्। रासस
FACEBOOK COMMENTS