काठमाडौं, माघ २८- नेपाल भ्रमण वर्षको शुरूआती महीनामै पर्यटन आगमन खस्किएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२० को जनवरीमा ७९ हजार ६८६ पर्यटक नेपाल आए, जुन सन् २०१९ को जनवरीभन्दा २ प्रतिशतले कम हो । गतवर्ष जनवरीमा ८१ हजार २७३ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
भारत, अन्य एशियाली मुलुक, यूरोप, अमेरिकाबाट कम पर्यटक नेपाल आउँदा समग्र पर्यटक आगमनमा कमी आएको हो । तर, जनवरीमा चीनबाट आउने पर्यटकको संख्यामा सामान्य वृद्धि देखिएको छ । विभागका अनुसार चीनबाट १३ हजार ३०३ पर्यटक यस जनवरीमा नेपाल आए, जुन गतवर्षको सोही महीनामा १२ हजार ९१६ थियो ।
पर्यटन व्यवसायीहरूका अनुसार जनवरीमै आगमन घटनु भ्रमण वर्षका लागि सुखद लक्षण होइन । उनीहरूका अनुसार चीनबाट फैलिएको कोरोना भाइरस संक्रमणको प्रभाव नेपालमा फेब्रुअरीबाट देखिनेछ ।
चीन नेपालमा पर्यटक आगमनको दोस्रो ठूलो स्रोत बजार हो । कोरोना भाइरसका कारण चीनतर्फको बजार नराम्ररी प्रभावित हुँदा यसको प्रतिकूल प्रभाव भ्रमण वर्षलाई पर्ने देखिएको छ । चिनियाँँ नयाँ वर्षको उपलक्ष्यमा जनवरी र फेब्रुअरी चिनियाँँ पर्यटकको ठूलो संख्या नेपाल आउने गरेको छ । नेपाल आउने कुल चिनियाँ पर्यटकमध्ये ४० प्रतिशत जनवरीदेखि अप्रिलसम्मको ४ महीनामा आउने गरेका छन् ।
चीनमा कोरोना भाइरस संक्रमण महामारीका रूपमा फैलँदा त्यहाँबाट हुने पर्यटक आगमनमा पछिल्लो १ सातायता ह्वात्तै घटेको छ । कोरोना भाइरसका कारण पछिल्लो समय चीनले आफ्ना नागरिकलाई विदेश भ्रमणमा रोक लगाएको छ । त्यस्तै, चीनबाट नेपालमा हुने उडानहरू उल्लेख्य रूपमा कटौती भएको छ ।
नेपाल पर्यटन बोर्डका अधिकारीहरू गतवर्षको जनवरीको तुलनामा आगमन केही कम देखिएकाले मुलुकको पर्यटन प्रवर्द्धनका लागि तथा भ्रमण वर्षलाई सफल बनाउन थप मेहनत गर्नुपर्ने अवस्था आएको बताउँछन् । ‘पर्यटक आगमन गतवर्षभन्दा २ प्रतिशत कम छ । हाललाई छिमेकी चीनको कारण देखिए पनि यूरोपेली तथा अन्य देशबाट पनि आगमन कम देखिएको छ,’ पर्यटन बोर्डका सूचना अधिकारी मणि लामिछानेले बताए, ‘यस्तो अवस्थामा नयाँ रणनीतिका साथ अगाडि बढनुको विकल्प छैन ।’
चीनमा समस्या देखिएकाले त्यहाँबाट आउने पर्यटकमा कमी हुने हुँदा त्यसको परिपूर्ति गर्न छिमेकी भारतसँगै मध्यपूर्वका मुलुकहरूमा नेपालको बजारीकरण गर्न सरकार, बोर्ड र पर्यटन व्यवसायीले आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् । यूरोपेली मुलुकहरूमा कूटनीतिक माध्यमबाट नेपाल हालसम्म कोरोना भाइरसको प्रकोपबाट सुरक्षित रहेको सन्देश प्रभाव गर्नुपर्ने उनीहरूको भनाइ छ । आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS